वीरगंज । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले हाल मुलुकमा कांग्रेस नेतृत्वको गठबन्धन सरकारले किसानका समस्यालाई गम्भीरताका साथ लिएको हुँदा निरास नहुन आग्रह गर्नु भएको छ ।
नेपाली कांग्रेस ठोरी गाउँपालिकाद्वारा आयोजित किसान सँग डा. शेखर कोइराला सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मल, बिउ, सिँचाइको अभावले अहिले किसान पीडित बनेको बताउँदै कांग्रेस नेतृत्वको सरकारले किसानका समस्या समाधान गरेरै छाडने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले प्रजातान्त्रिक आन्दोलनको ऐतिहासिक भूमि ठोरी विकास निर्माणमा पछाडि परेकोमा दुःख व्यक्त गर्दै ठोरीको विकासका लागि राज्यको ध्यान केन्द्रित गर्न आफू प्रतिबद्ध भएको बताउनु भयो ।
कांग्रेस नेता कोइरालाले पार्टीको नेतृत्वलाई सही दिशामा हिँडाउन कार्यकर्ताहरूले समेत दबाब दिनु पर्ने कुरामा जोड दिँदै नेतृत्व सही भएमा सङ्गठन मजबुद हुने दाबी गर्नु भयो ।
यसैगरी आजै नेता कोइरालाले ४० औँ बिपी स्मृति दिवसको अवसरमा ठोरीमा रहेको गणेशमान पार्कमा वृक्षारोपण गर्नु भएको छ भने सुवर्णपुरमा पार्टी कार्यकर्ताहरूसँग अन्तरक्रिया समेत गर्नु भएको छ ।
कार्यक्रममा नेपाली कांग्रेसका पूर्व मन्त्री रामकृष्ण यादव, कांग्रेस केन्द्रिय सदस्य एवं सांसद सञ्जय गौतम, प्रदेश सभा सदस्य शङ्कर चौधरी, नेपाली कांग्रेस पर्साका पूर्व सभापति अजय द्विवेदी, राजेन्द्र बहादुर अमात्य, शोभाकर पराजुली, गुरु घिमिरे, किरण यादव लगायतका नेताहरूको सहभागिता रहेको थियो ।
प्रतिक्रिया लेख्नुहोस्