
सिरहा, साउन १४ —
सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा भएको घटनाको विरोधमा मधेशका विभिन्न जिल्लामा प्रदर्शन फैलिन थालेपछि सिरहाको गोलबजार क्षेत्रमा स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।
जिल्ला प्रशासन कार्यालय सिरहाले सुरक्षा अवस्थाको विश्लेषण तथा जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको आदेशअनुसार बिहीबार दिउँसो २ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु लागू गरिएको जनाएको छ।
कर्फ्यु गोलबजार नगरपालिकाको पूर्वतर्फ कसाह खोला, पश्चिमतर्फ चोहर्वा चोक, उत्तरतर्फ सैनिक चोक र दक्षिणतर्फ राजेन्द्र प्रसाद राजकीय बहुमुखी क्याम्पस आसपासको क्षेत्रमा लागू गरिएको छ। कर्फ्यु अवधिभर आवतजावत, भेला तथा अन्य गतिविधिमा रोक लगाइएको छ।
प्रशासनले कर्फ्यु लागू भएसँगै उक्त क्षेत्रमा सुरक्षा व्यवस्था कडा पार्दै थप सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ।