
वीरगंज, १४ साउन । जिल्ला प्रशासन कार्यालय पर्साले सामाजिक सद्भाव र धार्मिक सहीष्णुता कायम राख्न सम्पूर्ण जिल्लावासीलाई आग्रह गरेको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा बिहीवार बेलुकी जारी अपिलमा सुनसरीमा हालै विकसित घटनाक्रमपछि देशका विभिन्न जिल्लामा भइरहेको प्रदर्शन र त्यसबाट सिर्जिएको संवेदनशील अवस्थालाई मध्यनजर गर्दै पर्सामा पनि उच्च सतर्कता अपनाइएको उल्लेख गरिएको छ ।
स्थानीय प्रशासनले पर्सा ऐतिहासिक रूपमा बहुसांस्कृतिक, बहुधार्मिक तथा सामाजिक सद्भावको केन्द्रका रूपमा परिचित रहेको उल्लेख गर्दै वर्तमान परिस्थितिमा सामाजिक सद्भावमा खलल पुग्न सक्ने तथा सार्वजनिक शान्ति सुरक्षा भंग हुने जोखिमलाई दृष्टिगत गरी स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम वीरगंजका सुरक्षा संवेदनशील क्षेत्रहरूमा बिहिवार साँझ ५ बजेदेखि १५ गते शुक्रवार बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको स्मरण गराएको छ ।
प्रजिअ दाहालले निषेधाज्ञाको पूर्ण पालना गर्न, तोकिएको क्षेत्रमा अनावश्यक रूपमा बाहिर ननिस्कन, भेला, जुलुस तथा प्रदर्शन नगर्न आग्रह गरेको छ। साथै फेसबुक, टिकटक, इनस्टाग्रामलगायत सामाजिक सञ्जालमा धार्मिक वा सामाजिक द्वेष फैलाउने, भ्रामक समाचार, अफवाह, फोटो वा भिडियो पोस्ट, सेयर वा प्रचार–प्रसार नगर्न पनि अनुरोध गरेका छन् ।
यस्ता गतिविधिमा संलग्न पाइएमा विद्युतीय कारोवार ऐन तथा प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनीसमेत स्थानीय प्रशासनले चेतावनी दिएको छ।
त्यसैगरी कुनै पनि विवाद वा असहमतिलाई कानुनी प्रक्रिया र शान्तिपूर्ण संवादबाट समाधान गर्न आग्रह गर्दै कानुन हातमा लिने, सार्वजनिक सम्पत्तिमा क्षति पुर्रुयाउने वा हिंसात्मक गतिविधिमा संलग्न नहुन स्थानीय प्रशासनले सबैसँग अपिल गरेको छ ।
जिल्लामा शान्ति सुरक्षाका लागि सुरक्षा निकाय चौबीसै घण्टा उच्च सतर्कताका साथ परिचालन गरिएको जनाउँदै कुनै पनि शंकास्पद गतिविधि, अफवाह वा सामाजिक सद्भाव बिगार्ने प्रयास देखिएमा तत्काल नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउन पनि अनुरोध गरिएको छ ।
विविधतामा एकता नै हाम्रो असली शक्ति र पहिचान हो” भन्दै सबै नागरिकलाई संयमता अपनाई प्रशासनलाई सहयोग गर्न तथा जिल्लाको शान्ति, अमनचयन र सामाजिक सद्भाव कायम राख्न जिम्मेवार भूमिका निर्वाह गर्न प्रमुख जिल्ला अधिकारी दाहालले आग्रह गरेका छन् ।