कलैया/सुनसरी घटनापछि पूर्वी तराई–मधेशका विभिन्न जिल्लामा देखिएको तनावपूर्ण अवस्थाको बीच बारा जिल्लामा सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र आपसी भाइचाराको सन्देश प्रवाह गर्ने उद्देश्यले शनिबार बृहत् सद्भाव र्याली आयोजना गरिएको छ।
जिल्ला प्रशासन कार्यालय बाराको प्राङ्गणबाट प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रको अध्यक्षतामा सुरु भएको र्यालीमा विभिन्न धार्मिक संघ–संस्थाका अगुवा तथा प्रतिनिधि, विभिन्न धर्म र संस्कृतिमा आस्था राख्ने धर्मावलम्बी, राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, नागरिक समाज, अधिकारकर्मी, सञ्चारकर्मी, टोल विकास संस्था, गैरसरकारी संस्थाका प्रतिनिधि, सरकारी कार्यालयका प्रमुख तथा कर्मचारी, सुरक्षा निकायका अधिकारीसहित करिब ३५० देखि ४०० जनाको सहभागिता रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
सद्भाव र्यालीले कलैया बजारको परिक्रमा गर्दै सामाजिक एकता, मेलमिलाप र सहिष्णुताको सन्देश दिएको थियो। र्यालीलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा प्रदेश ट्राफिक प्रहरीको संयुक्त सुरक्षा व्यवस्था परिचालन गरिएको थियो। प्रहरी उपरीक्षक नरेन्द्र कुँवरको कमाण्डमा ५०, सशस्त्र प्रहरी उपरीक्षक विशाल सिलवालको कमाण्डमा २०, नेपाली सेनाका प्रमुख गिरीराज गौतमको नेतृत्वमा १० तथा प्रदेश ट्राफिक प्रमुख प्रहरी उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतको कमाण्डमा १५ जना गरी करिब ९५ जना सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ।
यसैबीच, बाराको निजगढमा पनि सर्वपक्षीय सद्भाव समूहको आयोजनामा छुट्टै शान्तिपूर्ण सद्भाव र्याली निकालिएको छ। पूर्वी तराई–मधेशका विभिन्न जिल्लामा विकसित परिस्थितिलाई मध्यनजर गर्दै आम नेपालीबीच एकता र सद्भावको सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजना गरिएको र्यालीमा करिब २०० जनाको सहभागिता रहेको जनाइएको छ।
सहिदचोकबाट सुरु भएको र्याली लिचीबोट हुँदै पुरानो सिनेमाहलको मार्ग प्रयोग गरी बुद्धचोकमा पुगेर सम्पन्न भएको थियो। र्यालीको सुरक्षाका लागि इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक दाताराम अधिकारीको कमाण्डमा २० जना, इलाका प्रहरी कार्यालय कोल्हबीका प्रहरी निरीक्षक बुद्धिमान चोङवाङको नेतृत्वमा १० जना तथा सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन बेस निजगढका सशस्त्र प्रहरी नायब उपरीक्षक मुरारी अधिकारीको कमाण्डमा १७ जना सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
प्रहरीका अनुसार दुवै स्थानमा आयोजित सद्भाव र्याली शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ भने जिल्लाको सुरक्षा अवस्था सामान्य र नियन्त्रणमा रहेको छ।