निजगढ, साउन १६ —
पूर्वी तराई–मधेशका विभिन्न जिल्लामा पछिल्लो समय देखिएको तनावपूर्ण अवस्थाको बीच राष्ट्रिय एकता, सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्ने उद्देश्यले बाराको निजगढमा शनिबार सर्वपक्षीय सद्भाव र्याली आयोजना गरिएको छ।
विभिन्न राजनीतिक दल, सामाजिक अभियन्ता तथा सरोकारवालाको सहभागितामा गठित सर्वपक्षीय सद्भाव समूहको आयोजनामा सहिद चोकबाट सुरु भएको र्याली लिचीबोट, पुरानो सिनेमाहल क्षेत्र हुँदै बुद्ध चोकमा पुगेर सम्पन्न भएको थियो। र्यालीमा करिब २०० जनाको सहभागिता रहेको थियो।
सहभागीहरूले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता, राष्ट्रिय एकता र शान्तिको पक्षमा ऐक्यबद्धता जनाउँदै कुनै पनि प्रकारको विभाजनकारी गतिविधिविरुद्ध एकजुट भएर अघि बढ्नुपर्ने सन्देश दिएका थिए।
र्यालीको सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका ४७ जना सुरक्षाकर्मी परिचालन गरिएको थियो। सुरक्षा निकायका अनुसार कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ र कुनै अप्रिय घटना भएको छैन।
सहभागीहरूले यस्ता कार्यक्रमले स्थानीय स्तरमा शान्ति, सद्भाव र सामाजिक एकतालाई अझ सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।