जनकपुरधाम । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तिम पटकका लागि निर्धारण भएको मितिमा नै हुने ठोकुवा गर्नु भएको छ ।
नेपाली काँग्रेसका वरिष्ठ नेता पौडेलले आज जनकपुरधाममा नेपाल प्रेस युनियन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा अब काँग्रेसको महाधिवेशन मङ्सिर २३ देखि २६ गतेसम्ममा नै हुने र मिति सार्ने कुनै सम्भावना नभएको बताउनुभयो ।
उहाँले नेपाली जनताको ठूलो त्याग तपस्या एवं बलिदानबाट प्राप्त भएको संविधानलाई समाप्त गर्ने षड्यन्त्रका विरुद्धमा सजग रहनका लागि आम नेपालीमा आग्रह गर्दै मुलुकलाई सही दिशा दिनका लागि काँग्रेसमा नयाँ नेतृत्व आउन जरुरी रहेको बताउनुभयो ।
वरिष्ठ नेता पौडेलले अहिले संसद् चल्न नदिएर अन्त्य भएको छ, जनताको आस्था र भरोसाको केन्द्र रहेको न्यायालयमा विवाद रहेको र संवैधानिक निकायहरूलाई अस्थिर बनाएर संविधान र हालसम्मको उपलब्धिहरू समाप्त गर्ने षड्यन्त्र भएको बताउँदै सबैलाई ठिक पार्न काँग्रेसमा सही नेतृत्व जरुरी रहेको बताउनुभयो ।
संविधान बनेर यतिको समय बित्दा पनि मुलुकमा आर्थिक तथा सामाजिक रूपान्तरणको प्रक्रिया अगाडि नबढ्नु चिन्ताको विषय भएको बताउँदै नेपाली काँग्रेसका वरिष्ठ नेता पौडेलले तर हालसम्मको परिवर्तन एवं उपलब्धिहरूलाई जोगाउनका लागि निराश भएर बस्न नसकिने बताउनुभयो ।
एक प्रश्नको जवाफमा नेता पौडेलले आफू १३ औँ महाधिवेशनमा नै सभापतिमा उम्मेदवारी दिएका व्यक्ति भएकाले १४ औँ महाधिवेशनमा आफ्नो दाबी स्वाभाविक भएको बताउँदै त्यसका लागि सबै साथीहरूसँग परामर्श तथा राय विमर्श जारी रहेको बताउनुभयो ।
उहाँले संविधानको संशोधन संविधानको मूल भावना समाप्त हुने गरी हुनु हुँदैन भन्दै मधेसी, आदिवासी तथा जनजातिको माग संवोधनका लागि हुनु पर्दछ भन्नु भयो । एक अर्को प्रश्नको जवाफमा वरिष्ठ नेता पौडेलले नेपाली काँग्रेसमा आन्तरिक लोकतन्त्रका लागि नयाँ नेतृत्व आउन आवश्यक भएको बताउनुभयो ।
उहाँले सरकार सञ्चालनको गति विषम परिस्थिरमा सन्तोष जनक नै भएको बताउँदै पेट्रोलियम पदार्थको मूल्य वृद्धि अन्तर्राष्ट्रिय कारणले हुने गरेको भए पनि आयल निगमको अवस्थामा सुधार गरेर मूल्य वृद्धि नगरेको भए हुन्थ्यो भन्नु भयो ।
वरिष्ठ नेता पौडेलले मुलुकको समृद्धि र विकासका लागि कृषि र गाउँमा आधारित अर्थतन्त्रको विकास आवश्यक भएको बताउँदै उपेक्षितलाई नउठाएसम्म मुलुक समृद्धिको बाटोमा जान कठिन हुने बताउनुभयो ।
नेपाल प्रेस युनियन धनुषाका जिल्ला अध्यक्ष राजन सिंहको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा केन्द्रीय सदस्यहरु बद्री पाण्डे, किरण यादव, रामकृष्ण यादव सहितको उपस्थिति रहेका थिए ।
https://ift.tt/3btemnA
प्रतिक्रिया लेख्नुहोस्