काठमाण्डौं, १० चैत्र ।
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष डा. सुबोधकुमार गुप्ताको नेतृत्वमा सङ्घका एक शिष्ट मण्डलले नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारीहरुसँग भेटघाट तथा छलफल गरेको छ ।
छलफलका क्रममा सङ्घका अध्यक्ष डा. गुप्ताले पूँजी लगानीमा आयकर छुट हुनुपर्ने, आयकर छुटको सीमामा समयानुकूल परिमार्जन हुनुपर्ने, मु.अ.कर नलाग्ने वस्तुहरुको स्पष्ट सूची हुनुपर्ने, मूल्य अभिवृद्धि करमा बहुदर प्रणाली लागु गर्नुपर्ने, फिर्ता पाउनुपर्ने मु.अ.करलाई अन्य करमा मिलान गर्न पाउनुपर्ने, नन फाइलरको समस्या समाधान गर्नुपर्ने, बिल बिजकलाई मान्यता दिनु पर्ने लगायतका सुझाव दिनुभयो । उहाँले आयातमा बैंकहरुले मार्जिन डिपोजिट वापत रकम रोक्का राख्ने वा कट्टा गर्ने परिपाटीलाई अन्त गरिनुपर्ने, दाल निर्यातमा कायम गरेको १ भंसार शुल्क हटाई विगतमा दिइँदै आएको ४ प्रतिशत इन्सेन्टिभ पुनः कायम गरिनुपर्ने, एकीकृत भंसार चौकीको सफल सञ्चालनको लागि भौतिक पूर्वाधारहरु निर्माण तथा भंसार चौकीभित्र क्वारेन्टाइनको स्थापना हुनुपर्ने, विदेशी मेशीनरी पार्ट भारतबाट आयात गर्न पाउनुपर्ने, स्थानीय करलाई व्यवस्थित तुल्याउनुपर्ने, ५ करोड सम्मको वार्षिक टर्न ओभर गर्ने उद्योग व्यवसायको हकमा वार्षिक रुपमा कर वापत तिर्ने रकम तोकी सो रकमको भुक्तानी पश्चात् मिस्म्याच लगायतका प्रावधानबाट छुटकारा पाउनुपर्ने, मौद्रिक नीति मार्फत् आएको सम्पत्ति अभिलेखीकरणको "मोडालिटी" स्पष्ट हुनुपर्ने, व्यापारिक उधारो कारोबार व्यवस्थित तुल्याउन क्रेडिट एक्ट ल्याउनुपर्ने, ब्याजदर सिङ्गल डिजिटमा रहनुपर्ने सुझाव दिनुभयो ।
उहाँले भिसिटिएसमा रहेका नीतिगत तथा व्यवहारिक समस्याहरु समाधान हुनुपर्ने, भिसिटिएस, आशिकुडा र नेपाल नेशनल वन डोर सिस्टमको सफ्टवेयरलाई एकीकृत गर्नुपर्ने, आयातको लागि भंसार बिन्दु सहजै परिवर्तन गर्न सकिने हुनुपर्ने, उद्योगले बीमा गराउनु पर्ने बीमालाई अनिवार्य नगरी सो स्वेच्छिक बनाउनुपर्ने, ७ लाखसम्मको रकम बैंकमा जम्मा गर्दा राष्ट्र बैंकलाई विवरण बुझाउनु पर्ने प्रावधानलाई हटाउनुपर्ने, सेजमा उद्योग स्थापनाको लागि लचिलो नीति ल्याउनुपर्ने लगायतका सुझाव दिनुभयो ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले वीउवासङ्घबाट उठाइएका उद्योग, व्यापार, व्यवसाय, कर, राजस्व, भंसार, पूर्वाधार विकास लगायतका मुद्दाहरुलाई राष्ट्रिय स्तरमा उठान गरी सोको निदानको लागि आवश्यक पहल गर्ने बताउनुभयो । उहाँले यस्ता नीतिगत तथा व्यवहारिक समस्याहरुलाई नेपाल सरकारका सम्बन्धित निकायहरुबाट सम्बोधन गराउन आवश्यक पहल गर्ने बताउनुभयो । यसमा महासङ्घ विगतदेखि नै सक्रियतापूर्वक आफ्ना सकारात्मक भूमिका निवर्हन आइरहेको बताउनुभयो ।
भेटघाटको क्रममा सङ्घका नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्षद्वय दिनेश श्रेष्ठ र रामचन्द्र संघई, वरिष्ठ उपाध्यक्ष, अनिलकुमार अग्रवाल, उपाध्यक्षद्वय हरि गौतम र माधव राजपाल, महासचिव मनोजकुमार दास, सह–कोषाध्यक्ष प्रेमचन्द्र गोयल, का.स.स. सुनिलकुमार खेतान, सुमन क्याल, नरेश टिबडेवाल, अंकित खेतान, राजेन्द्र गुप्ता, जीतपुर सिमरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष सञ्जय साह लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया लेख्नुहोस्