वीरगञ्ज, १६ श्रावण — जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकामा भएको कुटपिट तथा झै-झगडाको घटनामा संलग्न एक युवकलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार श्रावण १५ गते बेलुकी करिब ७:३५ बजे वीरगञ्ज महानगरपालिका वडा नं. २ स्थित ईदगाहा चोक नजिकै भित्री सडक खण्डमा पुरानो व्यक्तिगत विवादलाई लिएर झगडा भएको थियो। सोही क्रममा स्थानीय १८ वर्षीय समिर अनसारीले वीरगञ्ज वडा नं. १६ इनर्वागाउँ बस्ने १८ वर्षीय रंजित यादवमाथि हातपात गरेका थिए।
कुटपिटबाट घाइते भएका यादवको ओठ र नाकमा चोट लागेको छ। प्रहरीले घटनालगत्तै घाइतेलाई उपचारका लागि प्रभु अस्पताल पुर्याएको र हाल उनको उपचार भइरहेको जनाएको छ। घटनामा संलग्न अनसारीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको छ।
उक्त घटनालाई लिएर केही सामाजिक सञ्जाल तथा सञ्चार माध्यमहरूमा सामाजिक सद्भाव बिथोल्ने खालका भ्रमात्मक समाचारहरू सम्प्रेषण भएकोप्रति जिल्ला प्रहरी कार्यालय पर्साले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी चक्र बहादुर मल्लद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, “घटनाका दोषीलाई नियन्त्रणमा लिई कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइसकिएको छ। अतः धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न, सही र सत्य-तथ्य समाचार मात्र सम्प्रेषण गर्न सम्पूर्ण सञ्चारकर्मी तथा आम नागरिकहरूमा हार्दिक अपिल गर्दछौँ।”