वीरगंज, १५ साउन ।
वीरगंज महानगरपालिका–२६ मा नवनिर्मित वडा कार्यालय तथा स्वास्थ्य चौकी भवनको उदघाटन गरिएको छ । एक समारोहका बीच वीरगंज महानगरपालिकाका कार्यवाहक नगर प्रमुख इम्तियाज आलमले दुवै भवनको संयुक्त रूपमा उदघाटन गरेका हुन् ।
उदघाटन समारोहलाई सम्बोधन गर्दै कार्यवाहक नगर प्रमुख आलमले नयाँ वडा कार्यालय र स्वास्थ्य चौकी भवन सञ्चालनमा आएपछि स्थानीयवासीलाई सेवा प्रवाह थप प्रभावकारी, सहज र गुणस्तरीय हुने विश्वास व्यक्त गरे । उनले वडा नं. २६ को विकास र जनसेवाका लागि महानगरपालिकाबाट आवश्यक सहयोग निरन्तर रहने प्रतिबद्धता पनि जनाए ।
कार्यक्रममा वडा नं. २६ का वडाध्यक्ष शम्भु मिश्राले महानगरपालिका स्तरीय योजनाअन्तर्गत वडा कार्यालय भवन तथा प्रदेश सरकारको योजनाअन्तर्गत स्वास्थ्य चौकी भवन निर्माण गरिएको जानकारी दिए । उनका अनुसार वडा कार्यालय भवन करिब १ करोड १० लाख रुपियाँँको लागतमा निर्माण भएको हो ।
वडाध्यक्ष मिश्राले वडा कार्यालय र स्वास्थ्य चौकी एउटै परिसरमा सञ्चालनमा आउँदा स्थानीय नागरिकले प्रशासनिक तथा स्वास्थ्य सेवा एकै स्थानबाट सहज रूपमा प्राप्त गर्न सक्ने बताए । यसका साथै वडा कार्यालय नजिक विद्यालय र प्रहरी कार्यालय समेत रहेको उनले जानकारी दिए ।
वडाध्यक्ष शम्भु मिश्राको अध्यक्षता तथा कार्यवाहक नगर प्रमुख इम्तियाज आलमको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर बोहरा, नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामरूप प्रसाद कुर्मी लगायत जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयवासीको उल्लेखनीय उपस्थिति रहेको थियो ।