सिरहा, साउन १६ —
सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर मृत्यु भएका गणेश यादवका परिवार र नेपाल सरकारबीच सात बुँदे सहमति भएको छ।
गृहमन्त्री सुधन गुरुङ र मृतकका बुबा रामवृक्ष यादवबीच भएको सहमतिअनुसार सरकारले गणेश यादवलाई शहीद घोषणा गर्ने प्रक्रिया अघि बढाउने, परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने तथा परिवारका एक सदस्यलाई रोजगारी दिने भएको छ।
सहमतिमा मृतकका भाइबहिनीलाई निःशुल्क शिक्षा, बुबा–आमालाई सरकारी अस्पतालमा निःशुल्क उपचार, घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही, छानबिन समितिको सिफारिस कार्यान्वयन तथा मृतकको सम्झनामा स्मृति पार्क निर्माण गर्ने विषय पनि समेटिएको छ।
सहमतिपछि शुक्रबार गणेश यादवको दाहसंस्कार गरिने उल्लेख गरिएको छ। सरकारले गृहमन्त्री सुधन गुरुङ र मृतकका तर्फबाट उनका बुबा रामवृक्ष यादवले सहमतिपत्रमा हस्ताक्षर गरेका छन्।