पर्सा , साउन १६ —
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले व्यापक विरोधपछि विश्वकपलगायत प्रमुख प्रतियोगितासँग सम्बन्धित विवादास्पद लगानी योजना रद्द गरेको छ।
फिफा अध्यक्ष जियानी इन्फान्टिनोले प्रस्तावित योजनाले फुटबल समुदायमा विभाजन सिर्जना गरेको र अब संस्थाको मूल उद्देश्यअनुकूल नरहेकाले अघि नबढाउने निर्णय गरिएको बताएका छन्।
यसअघि फिफाले विश्वकपसहित आफ्ना प्रमुख प्रतियोगिता सञ्चालन गर्ने नयाँ कम्पनीको करिब २० प्रतिशत हिस्सा बिक्री गरेर ४.२ अर्ब अमेरिकी डलरसम्म जुटाउने योजना अघि सारेको थियो। तर सदस्य राष्ट्रका फुटबल संघहरू, विशेषगरी युरोपेली फुटबल महासंघ (यूईएफए) र एसियाली फुटबल महासंघ (एएफसी) ले यसको चर्को विरोध गरेका थिए।
यसैबीच, योजना फिर्ता लिनुअघि फिफा अध्यक्षका वरिष्ठ सल्लाहकार कार्लोस कोर्डेरोले तत्काल प्रभावबाट राजीनामा दिएका छन्।