वीरगञ्ज, भाद्र २३ -
आगामी निर्वाचन नजिकिँदै गर्दा सखुवा प्रसौनी गाउँपालिकामा राजनीतिक विवाद चर्किँदै गएको छ। गाउँपालिकाका वर्तमान अध्यक्ष जसवन्त यादवलाई लक्षित गरी योजनाबद्ध रूपमा चरित्रहत्या गर्ने प्रयास पालिकाका पूर्व अध्यक्ष प्रदिप जैसवालबाट भइरहेको आरोप स्थानीय राजनीतिक वृत्तबाट उठेको छ।
स्थानीय स्रोत तथा सामाजिक सञ्जालमा सार्वजनिक भएका केही भिडियो र अभिव्यक्तिले घटनालाई थप शंकास्पद बनाएको दाबी गरिएको छ।
प्राप्त विवरणअनुसार, वीरगञ्जस्थित क्लार्क रिसोर्टको स्विमिङ पुल क्षेत्रमा रहेका अध्यक्ष यादवलाई प्रहरी बोलाएर पक्राउ गराउन खोजिएको र त्यसक्रममा केही व्यक्तिले भिडियोसमेत बनाएको देखिएको छ।
त्यसपछि सामाजिक सञ्जालमा सार्वजनिक गरिएका भिडियो तथा सम्बन्धित व्यक्तिहरूका अभिव्यक्तिमा भने यादवलाई क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा पक्राउ गरिएको भन्ने दाबी गरिएको देखिन्छ। तर गाउँपालिका अध्यक्ष यादवले आफूलाई स्वीमिँग पुल छेउबाट पक्राउ गरेको बताएका छन् ।
‘पक्राउ गराउनेदेखि भिडियो बनाउनेसम्म एउटै समूह सक्रिय’ भएको आरोप
स्थानीयका अनुसार पूर्वगाउँपालिका अध्यक्ष प्रदीप जैसवाल तथा उनका भाइ प्रमोद जैसवालसँग नजिक रहेका केही व्यक्तिहरूले प्रहरी बोलाउने, घटनाको भिडियो बनाउने र त्यसलाई सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा प्रचार गर्ने काममा सक्रिय भूमिका खेलेको देखिएको छ ।
यस्ता गतिविधि पूर्वनियोजित राजनीतिक रणनीतिको हिस्सा भन्दै स्थानीयले निष्पक्ष छानबिनको माग गरेका छन्।
वन्यजन्तु तस्करी प्रकरणको प्रसंग पनि जोडिँदै
यस विवादमा प्रदीप जैसवाल र प्रमोद जैसवालसँग जोडिएका वन्यजन्तु तस्करीसम्बन्धी पुराना अपराधहरु पुनः चर्चामा आएका छन्। स्थानीयस्तरमा उनीहरू वन्यजन्तुका अंग तथा हतियार बरामद भएको घटनामा पक्राउ परेको र पछि प्रभाव तथा आर्थिक शक्तिका कारण उम्किन सफल भएको घट्नाबाट आफ्नो चरित्रबारे सबैलाई थाहाभैसकेको र त्यसबाट अगामी चुनावमा पर्नसक्ने नराम्रो प्रभावबाट डराएर वर्तमान गापा अध्यक्ष जसवन्त यादवको चरित्र हत्या गर्ने षड्यन्त्र गरेको आम जनताको बुझाई छ ।
सरकारी वकिलको कार्यालयसम्म पुगेको भिडियोले थप प्रश्न
सोमबार सरकारी वकिलको कार्यालय परिसरमा प्रदीप जैसवाल पक्षसँग सम्बन्धित व्यक्तिहरू पुगेको भनिएको भिडियोसमेत सार्वजनिक भएको छ। उक्त भिडियोका आधारमा घटनालाई ‘बर्गेनिङ’ वा राजनीतिक प्रभाव प्रयोग गर्ने प्रयासका रूपमा व्याख्या गर्न थालिएको छ।
गापा अध्यक्ष यादवलाई प्रहरी सँग समात्न लगाई आफूले ठूले सफल्ता हासिल गरेको ठानेर गाउँ गाउँमा आफ्ना कार्यकर्ताहरुलाई पटाका बाँडेर पड्काउन लगाएका छन् जसबाट जैसवाल दाजुभाईको नियतलाई अझै प्रष्ट गरेको छ ।
पैसा र पदको लागि जतिहद सम्म पनि तल्लो स्तरको काम गर्नपनि पछि नपर्ने जैसवाल दाजुभाईले यादवलाई फसाउन धेरै ठूलो षड्यन्त्र गरेको र यादव पक्राउ परेदेखी नै जस्न मनाईरहेको उनकै गाउँबासीहरु बताएका छन् ।
प्रहरीको भूमिकामाथि पनि प्रश्न
घटनामा प्रहरीको भूमिका पनि स्थानीयको चासोको विषय बनेको छ। एउटै समूहले प्रहरी बोलाएको, पक्राउको दृश्य खिचेको र त्यसपछि सामाजिक सञ्जालमा त्यसलाई प्रचार गरेको हो भने प्रहरी अनुसन्धानको निष्पक्षतामाथि प्रश्न उठ्न सक्ने स्थानीयको भनाइ छ।
स्थानीयले पर्सा प्रहरीले कुनै राजनीतिक दबाब, प्रभाव वा व्यक्तिको पहुँचमा नभई प्रमाणका आधारमा मात्र अनुसन्धान गर्नुपर्ने बताएका छन्। विशेषगरी कुनै प्रतिष्ठित व्यक्तिको सार्वजनिक प्रतिष्ठामा असर पर्ने विषयमा प्रहरीको आधिकारिक धारणा र प्रमाणसहितको विवरण सार्वजनिक हुनुपर्ने उनीहरूको माग छ।
‘फोहोरी राजनीति होइन, निष्पक्ष प्रतिस्पर्धा चाहिन्छ’
सखुवा प्रसौनीका स्थानीयको एक पक्षले आगामी निर्वाचनलाई लक्षित गरी व्यक्तिगत चरित्रहत्या र बदनाम गर्ने राजनीति स्वीकार्य नहुने बताएको छ। उनीहरूका अनुसार राजनीतिक प्रतिस्पर्धा नीति, कार्यक्रम र जनताको कामका आधारमा हुनुपर्ने हो, व्यक्तिगत आरोप–प्रत्यारोप र षड्यन्त्रका आधारमा होइन।
स्थानीयस्तरमा यस्तो प्रवृत्तिले इमानदार र सक्षम व्यक्तिहरूलाई राजनीतिबाट पछि हट्न बाध्य बनाउने र आर्थिक तथा राजनीतिक पहुँच भएका व्यक्तिलाई फाइदा पुग्ने चिन्ता व्यक्त गरिएको छ।
स्थानीयको माग स्पष्ट छ—यदि कुनै व्यक्तिविरुद्ध अपराधको प्रमाण छ भने कानुनी प्रक्रियाबाट कारबाही होस्, तर प्रमाणबिना राजनीतिक प्रतिशोधका लागि कसैको चरित्रहत्या नगरियोस्। साथै, घटनामा संलग्न भनिएका सबै पक्षको भूमिका निष्पक्ष रूपमा छानबिन गरी वास्तविकता जनतासामु ल्याइयोस्।