बारा, १७ कात्तिक । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१६ धर्मनगरमा बाँदर धपाउने क्रममा भरुवा बन्दुकको छर्रा लागेर एक युवक घाइते भएका छन्।
कात्तिक १६ गते साँझ करिब १८:३५ बजेको समयमा धर्मनगर बस्ने अन्दाजी ३० वर्षीय गोबिन्द ठाडा मगरले बाँदर धपाउन पड्काएको भरुवा बन्दुकको छर्रा लागी सोही ठाउँ बस्ने अन्दाजी ३२/३३ वर्षका उत्तम रमौली मगर घाइते भएका हुन्।
घाइते रमौलीको वीरगन्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पताल, गण्डकमा उपचार भइरहेको छ। घटनालगत्तै बेलुकी १८:५० बजे जिल्ला प्रहरी कार्यालय बारामा सूचना प्राप्त हुनासाथ प्रहरी नायब उपरीक्षक (डिएसपी) मिन बहादुर घलेको कमाण्डमा ७ जना, अस्थायी प्रहरी पोस्ट डुमरवानाबाट प्रहरी सहायक निरीक्षक (असई) संजय कुमार वर्माको कमाण्डमा २ जना र इलाका प्रहरी कार्यालय सिमराबाट डिएसपी दायकृष्ण भट्टको कमाण्डमा २२ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो।
प्रहरी टोलीले घटनामा संलग्न गोबिन्द ठाडा मगरलाई २ नाल भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको छ। पक्राउ परेका मगरलाई इलाका प्रहरी कार्यालय सिमरामा राखेर सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।