काठमाडौं, २३ कात्तिक । नेपाल राष्ट्र बैंकले यस वर्षको धनतेरस तथा तिहारको अवसरमा करिब ३७ करोड रुपैयाँ बराबरको सुनचाँदीका सिक्का बिक्री गरेको छ। बैंकले ३० करोड रुपैयाँ बराबरको सुनको सिक्का (असर्फी) र ७ करोड रुपैयाँ बराबरको चाँदीको सिक्का (मेडालियन) बिक्री गरेको हो।
तिहारमा सुनचाँदीका सिक्का खरिद गर्ने परम्परा रहे पनि यस वर्ष बजारमा भने अपेक्षाकृत कम बिक्री भएको व्यापारीहरूले बताएका छन्। सुनचाँदीको मूल्य, ग्राहकको क्रयशक्ति तथा बजारको मागका कारण कारोबारमा कमी आएको व्यापारीहरूको भनाइ छ।
यता, नेपाल राष्ट्र बैंकमा भने सुनको सिक्काको माग उच्च हुँदा उपलब्ध असर्फी छिट्टै सकिएको थियो। सुनको सिक्का अभाव भएपछि बैंकले एक दिन चाँदीको सिक्का (मेडालियन) मात्रै बिक्री गरेको थियो।
राष्ट्र बैंकले यस वर्ष बिहीबार र शुक्रबार गरी दुई दिन मात्रै सुनचाँदीका सिक्का बिक्री गरेको थियो। सीमित समय र उपलब्ध परिमाणका बीच बैंकबाट कुल ३७ करोड रुपैयाँ बराबरका सिक्का बिक्री भएको हो।
बजारमा सुनचाँदीको कारोबार सुस्त रहेको व्यापारीहरूको भनाइ र राष्ट्र बैंकमा सुनको असर्फीको माग उच्च देखिनुले तिहारको सिक्का कारोबारमा फरक प्रवृत्ति देखिएको छ।