बारा,१७ कात्तिक। जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी सहायक हवल्दार शिवशंकर प्रसाद यादवलाई २०८३ साल असोज महिनाको उत्कृष्ट प्रहरी घोषित गरिएको छ।
डाँका तथा ज्यानसम्बन्धी कसूरको अनुसन्धानमा प्राविधिक विश्लेषण गरी सफल अनुसन्धान कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पवन कुमार भट्टराईले यादवलाई उत्कृष्ट प्रहरी घोषणा गरेका हुन्।
सांगठनिक नीति तथा निर्देशनबमोजिम प्रदान गरिएको जिम्मेवारी र पदीय दायित्वलाई इमान्दार, बफादार तथा कर्तव्यनिष्ठ भई उच्च व्यावसायिक सुझबुझका साथ सम्पादन गर्दै आएको मूल्याङ्कनका आधारमा यादवलाई उत्कृष्ट प्रहरी छनोट गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
प्रहरी सहायक हवल्दार यादवले आगामी दिनमा समेत पेशागत कर्तव्यप्रति वफादार रही अपराध अनुसन्धानका काममा विशेष योगदान पुर्याउने विश्वास एसपी भट्टराईले व्यक्त गरेका छन्।