बारा, १८ कात्तिक । बारामा स्वर्गीय युवा नेता सुजित कुमार पाण्डेको स्मृतिमा सुजित मेमोरियल टि–२० क्रिकेट प्रतियोगिता २०८३ आयोजना हुने भएको छ।
“खेलकुदले जोड्छ, युवाले बदलछ कलैया-१४” भन्ने मूल नाराका साथ उक्त प्रतियोगिता सञ्चालन गर्न लागिएको हो।
स्वर्गीय नेता पाण्डे समाजका एक होनाहार र ऊर्जावान् व्यक्तित्व थिए, जसले सधैँ समाजका विकृति र बेथितिहरूविरुद्ध दृढतापूर्वक आवाज उठाउँदै युवाहरूलाई नेतृत्व प्रदान गरेका थिए। उनको यही योगदान र स्मृतिको सम्मान गर्दै युथ अफ कलैया १४ खेलकुद व्यवस्थापन समितिको आयोजनामा यो क्रिकेट प्रतियोगिता हुन लागेको हो।
आगामी कात्तिक २३ गतेदेखि सुरु हुने यस प्रतियोगिताको पहिलो खेल बिहान ठीक ०८ बजेबाट सञ्चालन हुनेछ। कलैया उपमहानगरपालिका वडा नम्बर १४ भौरा टोलमा रहेको खेल मैदानमा आयोजना हुने प्रतियोगितामा उपस्थित भई खेल अवलोकन गर्न तथा खेलाडीहरूको उत्साह बढाउन समस्त खेलप्रेमी एवं स्थानीय बासिन्दाहरूलाई आयोजक समितिले अनुरोध गरेको छ।