बारा, १८ कात्तिक । चितवनको भरतपुर महानगरपालिका–०३ बाट ६ लाख २३ हजार ४६५ रुपैयाँ बराबरका विभिन्न किसिमका पटाकासहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्।
चाडपर्वलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय चितवन तथा मातहतका कार्यालयहरूबाट सञ्चालित विशेष सुरक्षा कारबाहीका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो।
पक्राउ परेकाहरूको साथबाट झिरझिरे, खुर्सानी, चक्र, रकेटलगायत कुल ८० हजार ३७२ थान पटाका बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद गरिएका पटाकाहरूको अनुमानित बजार मूल्य ६ लाख २३ हजार ४६५ रुपैयाँ रहेको छ भने उनीहरूको साथबाट १ लाख ७२ हजार ३०० रुपैयाँ नगदसमेत बरामद गरिएको छ।
पक्राउ पर्नेमा भारतको मोतिहारीका ४१ वर्षीय सञ्जय साह तेली र २९ वर्षीय राज जैसवाल उर्फ कन्हैया कुमार रहेका छन्। पटाका तथा विस्फोटक पदार्थसहित पक्राउ परेका उनीहरूमाथि विस्फोटक पदार्थसम्बन्धी कसुरअन्तर्गत आवश्यक कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको छ।