बारा, २० कात्तिक। बाराअपडेट डटकम डट एनपी मा प्रकाशित दशैं मेला घटनासम्बन्धी समाचारप्रति अखिलेश प्रसाद साहले खण्डन तथा स्पष्टीकरण पठाउनुभएको छ।
साहका अनुसार, वीरगञ्जमा भएको घटनामा सडक सरसफाइमा संलग्न महिलासँग सामान्य विवाद भएको र सोही क्रममा दुवै पक्षबीच हातपात भएको थियो। घटनापछि आफू प्रहरी नियन्त्रणमा परेको र मिति २०८३ कार्तिक ४ गते सम्बन्धित पक्षबीच आपसी सहमति भएपछि रिहा भएको उहाँको भनाइ छ। उहाँले यसअघि प्रकाशित समाचारमा आफ्नो पक्षको भनाइ समावेश नभएको तथा घटनाको वास्तविक पृष्ठभूमि र पछिल्लो अवस्थासमेत नसमेटिएको भन्दै आपत्ति जनाउनुभएको छ।
यस सम्बन्धमा बाराअपडेट डटकम डट एनपी स्पष्ट पार्न चाहन्छ कि उक्त समाचार प्रहरीबाट प्राप्त सूचनाका आधारमा प्रकाशित गरिएको थियो। समाचार प्रकाशनका क्रममा सम्बन्धित व्यक्तिको भनाइ समावेश हुन नसकेको विषयलाई ध्यानमा राख्दै उहाँको खण्डन तथा स्पष्टीकरण पाठकसमक्ष प्रकाशित गरिएको हो।
उहाँले उल्लेख गर्नुभएका घटनाका विवरण तथा आपसी सहमतिसम्बन्धी विषय उहाँकै भनाइका रूपमा प्रस्तुत गरिएको छ। थप तथ्यगत त्रुटि पुष्टि भएमा आवश्यक सुधार गरिनेछ ।
बाराअपडेट डटकम डट एनपी परिवार