बारा,२४ कात्तिक । बाराको कलैया उपमहानगरपालिका–१४ भौरास्थित खेल मैदानमा जारी स्वर्गीय युवा नेता सुजित पाण्डेको स्मृतिमा आयोजित सुजित मेमोरियल टी–२० क्रिकेट प्रतियोगितामा वडा नं. ४ विजयी भएको छ।
प्रतियोगिताअन्तर्गत भएको दोस्रो दिनको खेलमा वडा नं. ४ ले वडा नं. ११ लाई ९ विकेटले पराजित गरेको हो। पहिले ब्याटिङ गरेको वडा नं. ११ ले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १४२ रन बनाएको थियो। वडा नं. ११ का लागि साजिरले सर्वाधिक ४२ रन बनाए। त्यस्तै बलिरामले २८, अब्बादले १८ र मोहिदले १२ रनको योगदान दिए।
१४३ रनको लक्ष्य पछ्याएको वडा नं. ४ ले १३.४ ओभरमा १ विकेट गुमाउँदै १४७ रन बनाएर सहज जित निकालेको थियो। वडा नं. ४ का कुमार थापाले उत्कृष्ट ब्याटिङ गर्दै ५३ बलमा १०४ रनको अविजित शतकीय पारी खेले। उनले आफ्नो पारीमा ८ चौका र ९ छक्का प्रहार गरे। त्यस्तै सञ्जय साहले १७ र राहुल यादवले अविजित ११ रन बनाए।
शतकीय पारी खेलेका कुमार थापा म्यान अफ द म्याच घोषित भएका छन् । उनलाई ब्राइट ल्याण्ड बोर्डिङ स्कुलका प्रिन्सिपल मनोज यादवले पुरस्कार प्रदान गरेका हुन् ।
प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ। सहभागी टोलीलाई समूह ‘क’ र समूह ‘ख’ मा चार–चार टोली गरी विभाजन गरिएको आयोजकले जनाएको छ।
प्रतियोगिताको विजेता टोलीले नगद १५ हजार रुपैयाँसहित ट्रफी र मेडल तथा उपविजेता टोलीले नगद १० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछन्। प्रतियोगिताको तेस्रो दिन बुधबार बिहान ८ बजेदेखि कलैया उपमहानगरपालिका वडा नं. २७ र वडा नं. ८ बीच प्रतिस्पर्धा हुनेछ। यस्तै, दिउँसो १ बजेदेखि वडा नं. १४ र वडा नं. ४ बीच खेल हुने आयोजक समितिका अध्यक्ष रमेश ठाकुरले जानकारी दिएका छन्।