सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा स्व. साकेत चन्द्र मिश्रको स्मृति एवं सम्मानमा आयोजित ११ औँ अन्तर्राष्ट्रिय महिला तथा पुरुष कुस्ती प्रतियोगिता आइतबार सम्पन्न भएको छ ।
प्रतियोगिताको अन्तिम दिन पनि नेपाली पहलमानहरूले उत्कृष्ट प्रदर्शन गरेका छन् । अन्तिम दिन पुरुषतर्फ भएको १३ प्रतिस्पर्धामध्ये ७ प्रतिस्पर्धामा नेपालका पहलमान तथा ६ प्रतिस्पर्धामा भारतीय पहलमान विजयी भएका छन् ।
यस्तै आइतबार महिलातर्फ भएको ५ अन्तिम प्रतिस्पर्धामा भारतीय पहलमानले ३ तथा नेपाली पहलमानले २ प्रतिस्पर्धामा जित हात पारेका छन् ।
विभिन्न तौल समूहमा गरी पुरुषतर्फ २६ र महिलातर्फ १० गरी कुल ३६ प्रतिस्पर्धा भएकोमा पुरुषतर्फ १६ र महिलातर्फ ४ नेपाली पहलमान विजयी भएका छन् । यस्तै पुरुषतर्फ १० र महिलातर्फ ६ भारतीय खेलाडी विजयी भएका छन् ।
नेपाली पहलमान राहुल, उपेन्द्र, बाबर, पारस, अनुप, निर्दोश, वसन्त, दिपक र हरिओमले उत्कृष्ट प्रदर्शन गर्दै प्रतिद्वन्द्वी भारतीय पहलमानलाई पराजित गर्न सफल भए । यस्तै महिलातर्फ नेपालकी शिवानी र शिवाङ्गिले भारतीय पहलमानलाई पाखा लगाइन् ।
सरस्वती पूजा तथा वसन्त पञ्चमीको अवसर पारेर विगत ११ वर्ष देखी पूजा तथा मेला समितिले तिलाठी निवासी स्व. मिश्रको स्मृति एवं सम्मानमा अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता आयोजना गर्दै आएको छ ।
पञ्चायती व्यवस्था तथा राजतन्त्र विरुद्धको आन्दोलनका क्रममा २०४२ सालमा ज्यान गुमाएका मिश्रको योगदानलाई सम्झँदै राज्यले अविलम्ब उनलाई औपचारिक रुपमा सहिद घोषणा गरी सम्मान गर्नुपर्ने समापन समारोहमा सहभागी वक्ताहरूले जोड दिएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्