वीरगंज, १४ वैशाख ।
जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको मंगलवार बसेको बैठकले पर्सा जिल्लामा वैशाख १६ गतेदेखि एक सातासम्म लकडाउन गर्ने निर्णय गरेको छ ।
बैशाख १६ गते बिहान ४ बजेबाट लागु हुने गरी एक साताको लागि लकडाउन गरिएको जिल्ला प्रशासन कार्यालय पर्सामा प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले बताए । प्रजिअ घिमिरेको अध्यक्षतामा बसेको बैठकले बैशाख १६ गते बिहान ४ बजेबाट लागु हुने निषेधाज्ञा बैशाख २२ गते राति १२ बजेसम्म लागु हुने निर्णय गरेको छ ।
विदेशबाट जिल्ला भित्रिएका १० दिन अनिवार्य रूपमा होम आईसोलेसन वा सामुदायिक आईसोलेसनमा राख्ने व्यवस्था सम्बन्धीत स्थानीय तहले मिलाउनु पर्ने निर्णय बैठकले गरेको छ ।
नारायाणी अस्पतालले माग गरे बमोजिमको थप जनशक्तिको व्यवस्थापनको लागि सिसीएमसी र प्रदेश स्तरीय सिसीएमसीलाई अनुरोध गर्ने निर्णय भएको पर्साका प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिए ।
बैठकले नारायणी अस्पताल विकास समितिले माग गरे बमोजिम खटाइएका थप ६ जना जनशक्तिको पारिश्रमिक प्रदेश सरकारले उपलब्ध गराएको बजेटबाट डिसीएमसीले उपलब्ध गराउने निर्णय भएको छ ।
डिसीएमसीको बैठकले वीरगंजस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा होल्डिंग सेन्टर र आईसोलेसन स्थापना गरी नेपाल प्रवेश गर्ने यात्रीहरूको व्यवस्थापन गर्ने निर्णय गरेको छ र यसको जिम्मा बैठकले नेपाली सेनालाई दिएको छ ।
यस्तै, बैठकले कम्तीमा २०० बेडको डेडिकेटेड कोभिड अस्पताल स्थापन र सञ्चालनका लागि प्रदेश सरकारसँग अनुरोध गरी पठाउने निर्णय गरेको छ ।
बैठकले वीरगंजस्थिन नेशनल मेडिकल कलेजलाई नेपाल सरकारले तोकेको मापदण्ड भित्र रहेर कोरोना संक्रमितको उपचार गर्न गराउन अनुरोध गर्ने पनि निर्णय गरेको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी घिमिरेको अध्यक्षतामा बसेको बैठकमा वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगी, प्रहरी उपरीक्षक बेल बहादुर पाण्डे, वीरगंजस्थित नेपाली सेनाको गणका प्रमुख लगायतकाको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया लेख्नुहोस्