
लहान । शिक्षा क्षेत्रमा देखिएको विभिन्न समस्या तत्काल समाधान गर्न सरकार लागिपरेको सङ्घीय सरकारका शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमाया कुमारी यादवले बताउनुभएको छ ।
सिरहाको लक्ष्मिपुर पत्तारी गाउँपालिका वडा नम्बर–५ स्थित खरुकियाहीमा एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनले आज आयोजना गरेको सम्मान तथा शुभकामना आदान–प्रदान कार्यक्रममा प्रमुख अतिथि मन्त्री यादवले यस्तो बताउनु भएको हो ।
विभिन्न विद्यालयमा कार्यरत राहत, अस्थायी , निजी स्रोत लगायतका शिक्षकहरूले बेला बखत आफू अन्यायमा परेको चर्को बिरोध गरिरहेकोले कार्यकाल भित्र यी समस्या समाधान गर्न आफ्नो तर्फबाट विशेष पहल गर्ने बताउनु भयो ।
बाल विकास केन्द्रमा अध्यापन गराउने सहयोगी कार्यकर्ताहरूको मासिक सेवा सुविधामा एकरूपता नरहेकोले एकरूपता ल्याउन पनि आफू नीतिगत पहल गर्ने मन्त्री यादवले प्रतिबद्धता गर्नुभयो ।
तराईका अधिकांश सामुदायिक विद्यालयहरूमा विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दीको अभाव कायमै रहेको लगायतका विभिन्न समस्याहरू शिक्षा क्षेत्रमा देखिएकोले दरबन्दी मिलानका लागी सरकारसँग पहल गरिरहेको मन्त्री यादवको भनाई छ ।
यस्तै विशिष्ट अतिथिको रुपमा कार्यक्रममा सहभागी प्रदेश नम्बर–२ सरकारका आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुबीकुमारी कर्णले अब आउने तीनै तहको चुनावमा नेकपा माओवादी केन्द्र ठूलो पार्टी बन्ने दाबी गर्नु भएको छ ।
जनताको हितमा काम गर्ने एक मात्र पार्टी नेकपा माओवादी केन्द्र भएकोले अब जनताले अत्यधिक मत दिएर पार्टीलाई विजय गराउनेमा दुई मत नरहेको बताउनुभयो ।
चुनावको मिति नजिक आउनै लाग्दा गाउँ गाउँमा खटन र सक्रिय रहन नेता तथा कार्यकर्ताहरू लाई दुवै मन्त्रीले निर्देशन दिनुभयो ।
https://ift.tt/3bikbEi
प्रतिक्रिया लेख्नुहोस्