धेरैको गुनासो छ यो नेपालमा- ‘देश त धर्तीमा स्वर्गको एक टुक्रा नै हो, तर के गर्ने एउटा राम्रो नेता कहिल्यै जन्मेन । प्राकृतिक रूपले स्वर्ग जस्तो देश राजनीतिक रूपले सधैं नर्क जस्तो भयो । स्रोतसाधनले सम्पन्न भए पनि सधैं विदेशिन, गरीब कहलिन बाध्य भयौं ।’ सामान्य र आमझैं लाग्ने यस्ता टिप्पणीभित्रको पीडा भने निकै गहिरो छ । सर्वसाधारणको हृदयभित्रबाट अभिव्यक्ति हुने यस्ता भावना बारम्बार सुन्नु पर्दा सबैलाई नमीठो लाग्नु स्वाभाविक हुन्छ ।
सोच्दै जाँदा भावुक हुन मन लाग्छ । एक्काइसौं शताब्दीको दोस्रो दशक पार गरिसक्दा पनि हामी संसारकै विपन्न र नाजुक मुलुकमध्ये एक छौं । लोकतान्त्रिक मूल्य/मान्यताको स्थापना र राजनीतिक स्थायित्व अझै राम्रो गरी प्रत्याभूत छैन । दलीयकरण र स्वार्थको टकराव चरम छ । प्रतिव्यक्ति आय मुश्किलले ११०० डलर छ, जबकि १ लाख ३५ हजार डलर प्रतिव्यक्ति आय भएका देश यही विश्वमा छन् । विश्व औसत मात्र १३ हजार ५०० डलर पुगिसक्यो । ‘पहिलो विश्व’ मा पुग्ने त कुरै छोडौं, विश्वको विद्यमान औसत जीवनस्तर प्राप्त गर्न मात्र पनि हामीलाई अझै दुई शताब्दी लाग्न सक्दछ, त्यतिन्जेलसम्म विश्व कहाँ पुग्ला ?
तर, जति नै भावुक भए पनि समाधान प्राप्त हुने हैन । स्थिति जति नै निर्मम, क्रूर, कठोर किन नहोस्, आशावादी हुनु र निरन्तर प्रयत्न गर्नु बाहेक सृष्टिले हामीलाई अरू कुनै विकल्प दिएको पनि छैन । नेतृत्वको उदय शायद भावनाप्रधान मात्र हुँदैन, सामाजिक तथा मनोवैज्ञानिक विकासक्रमका खास चरण र कारण पनि जिम्मेवार हुन्छन् । आफ्नो देश राम्रो बनाउने इच्छा कसलाई नहुँदो हो ? तर, इच्छाले मात्र पनि नहुने रहेछ ।
वस्तुगत भएर हेर्दा असल र सफल नेतृत्व अभावको बहससँग मुख्य तीन वटा गम्भीर प्रश्न जोडिएका छन् ।
एक- ‘राम्रो नेता’ भनेर कस्तो नेता खोजिएको होला ? केके काम कसरी गर्ने नेता भए राम्रो भन्ने ? हामीलाई खास चाहिएको नेता चाहिं कस्तो हो ? कस्तो नेतालाई राम्रो भन्ने ? कस्तो कस्तो विशेषता, चरित्र र क्षमता भएको नेता आए राम्रो मान्ने ?
दोस्रो- देशमा राम्रो नेता त होलान् पनि, करीब ३ करोड मानिसमा कोही पनि राम्रो नेता हुन योग्य छैन भनेर पत्याउन सकिंदैन । विधाताले कुनै पनि देशलाई यति धेरै अन्याय त पक्कै पनि गरेको हुँदैन कि त्यसको पूरा जनसंख्यामा एक जना पनि ‘राम्रो नेता’ कहलिन योग्य मान्छे नजन्मेको होस् । हुन सक्दछ, राम्रो नेता भएर पनि उसको ‘उदय’ हुन नसकेको हो । सत्तामा उदय नहुन्जेल नेतृत्वको परीक्षण हुँदैन । नेपालमा नेतृत्व क्षमता भएका व्यक्ति हुँदै नभएको हो कि उदय नभएको हो ? यदि उदय नभएको भए कसरी हुन सक्दछ ? नेतृत्व उदयको हाम्रो प्रचलन, प्रणाली र प्रक्रियाले राम्रो नेतृत्व उदय हुन दिन्छ कि दिंदैन ।
तेस्रो- ‘कहिल्यै भएन’ किन भनिएको ? के नेपालको हरेक कालखण्ड खेर गएको हो ? यदि हो भने के यो साँच्चै सतीको श्राप लागेको अभिशप्त देश हो त ? यदि देशको अस्तित्व नै अभिशप्त हो भने यहाँ राम्रो नेताको चाहना नै किन राख्ने ? देशले उन्नति, प्रगति गर्नुपर्ने अपेक्षा नै किन गर्ने ? श्रापित मानिसको जिन्दगीमा जसरी सुखको दिन कहिल्यै आउँदैन, स्वाभाविक हो, अभिशप्त देशको कुनै भविष्य हुँदैन ।
यदि नेताले मात्र देश बिगारेको भन्ने हो भने किन बिगार्ने मात्र नेता जन्मिन्छ त ? यदि देश अभिशप्त हैन भने राम्रो नेता पनि त जन्मिनुपर्ने ? हामी जनता वा मतदाता चाहिं किन एकातिर राम्रो नेतृत्वको अपेक्षा राख्छौं, अर्कोतिर तिनै नराम्रो भनिएकाहरूको पछि लाग्न र भोट दिन बाध्य हुन्छौं ? के यो प्रवृत्ति बीच कुनै संगति छ ।
सामान्यतः तीन वटा गुण भएको नेतालाई राम्रो नेता मान्न सकिन्छ । एक- उपयुक्त सोच, दूरदृष्टि र त्यसप्रतिको प्रतिबद्धता । दुई- योग्यता र क्षमता । तीन- असल मान्यता, प्रचलन र उत्तराधिकारको प्रत्याभूति । जुनसुकै राजनीतिक प्रणालीबाट यदि यस प्रकारको नेतृत्व आउँछ भने उसले देशका लागि केही न केही योगदान अवश्य गर्छ ।
जस्तो कि तीन वटा फरकफरक प्रणालीबाट केही उदाहरण हेरौं ।
जस्तो- प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुने अमेरिकी प्रणालीमा जर्ज वासिङटन, अब्राहम लिंकन, फ्राकलिन डि. रुजबेल्ट जस्ता दर्जन बढी सफल र असल राष्ट्रपतिको उदय । अर्कोतिर- संसदीय प्रणालीबाट बेलायतका वेन्ष्टन चर्चिल, भारतका जवाहरलाल नेहरू, सिंगापुरका लि क्वान यु र न्युजिल्याण्डकी ज्यासिन्डा अर्डन जस्ता प्रधानमन्त्री उदाए । एकदलीय कम्युनिष्ट प्रणालीबाटै चीनमा देङ सियाओ पिङ र अहिलेका प्रभावशाली राष्ट्रपति सि जिन पिङको भयो ।
नेपालमा चाहिं निरंकुश राजतन्त्र हुँदा होस् वा जहानियाँ राणाशाही, निर्दलीय पञ्चायती व्यवस्था हुँदा होस् वा बहुदलीय संसदीय लोकतन्त्र वा अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्र-कुनै प्रणालीले पनि देशलाई सभ्य, सुसंस्कृत, सुशासित र समृद्ध बनाउने नेतृत्व जन्माउन सकेन । यस्तो किन भयो ?
दार्शनिक प्रवर्गबाट विश्लेषण गर्दा नेतृत्व मूलतः दुई चिजको संयोजन हो- प्रयत्न र संयोग अर्थात् नियमितता र आकस्मिकता । नियमित प्रयत्नले मात्र कुनै व्यक्ति नेता हुन र उदाउन सक्दैन । राजनीतिमा लागेका सबै मानिसलाई जनताले उत्तिकै साथ, सहयोग र विश्वास दिंदैनन् । जनताको साथ, विश्वास र मत हासिल नगरिकन नेतृत्वको उदय हुँदैन । तर, प्रयत्न नै नगरिकन नेतृत्वको उदय झनै सम्भव हुँदैन । जनता वा मतदाताले तिनै मध्ये कसैलाई साथ दिन्छन्, जसले केही न केही प्रयत्न गरिरहेको हुन्छ । प्रयत्न आफ्नो ठाउँमा महत्वपूर्ण कुरा हो तर पर्याप्त हैन ।
इतिहास आवश्यकता र संयोगिकताको बीचबाट हिंडिरहेको छ । मानिसको प्रयत्न त्यससँग तादात्म्य भयो भने मात्र नेतृत्वको उदय हुने हो । नेतृत्व असल र सफल प्रमाणित हुने हो ।
जस्तो कि जर्ज वासिङटन र अब्राहम लिंकनको उदय प्रयत्नमा आधारित थियो । तर, रुजबेल्टको उदय संयोगिक थियो । नेहरू र लि क्वान युको उदय प्रयत्नबाट भएको थियो, तर चर्चिल र ज्यासिन्डा अर्डनको उदय संयोगिक थियो । सी जिन पिङको उदय प्रयत्नबाट भएको देखिन्छ, तर देङको उदय संयोगिक थियो ।
लामो शंृखला, संघर्ष र नियमित प्रक्रियाबाट आएको नेतृत्वलाई प्रयत्नबाट आएको नेतृत्व भन्न सकिन्छ, भलै यस प्रक्रियामा पनि आकस्मिकताको भूमिका र योगदान हुन्छ नै । कतिपय नेताहरू भने विशुद्ध ऐतिहासिक संयोगले जन्मिन्छन् । जस्तो कि रूसका भ्लादिमिर पुटिन । सन् १९९० को दशकका घटनाक्रम विना सोभियत कम्युनिष्ट पार्टीको नियमित प्रक्रियाबाट पुटिनको उदय सम्भव नै थिएन । सोभियत संघको पतनका लागि महत्वपूर्ण भूमिका गरेका बोरिस यल्तसिनसँग कुनै नियमित उत्तराधिकार थिएनन्, त्यही ग्याप पुटिनले पूरा गरेर पोष्ट-कम्युनिष्ट रूसमा आफूलाई वर्चश्वशाली बनाए ।
भारतको प्रधानमन्त्री हुन नेहरूले लामो संघर्ष गर्नु पर्यो । उनले राजनीतिक शुरुआत गर्दा भारत भन्ने देश नै थिएन । सन् १५२६ देखि १८५७ सम्म मुगल शासन चलेको थियो, त्यसपछिका ९० वर्ष अंग्रेज शासन रहृयो । सन् १९४७ मा भारत स्वतन्त्र देश बन्छ र काश्मिरी पंडितका सन्तान नेहरू प्रधानमन्त्री बन्छन् भन्ने कल्पना कसैमा थिएन । अझ पाकिस्तान भन्ने देशको त कुरै छोडौं शब्द नै शब्दकोशमा थिएन । नेहरू र मोहम्मद अलि जिन्नाको व्यक्तित्व, हिन्दू र मुस्लिम मनोविज्ञान, कांग्रेस र मुस्लिम लिगको संगठनात्मक अहम्को टकरावले पाकिस्तान जन्मियो ।
नेहरू र जिन्नाको संघर्ष नियमितता थियो तर भारत, पाक विभाजन आकस्मिकता थियो ।
अब्राहम लिंकनले अमेरिकाको राष्ट्रपति पदमा पुग्न लामो राजनीतिक संघर्ष गरे । पदमा भने उनी छोटो समय रहे । तर, छोटो समय पदमा रहँदा उनले जुन कामहरू गरे, ती अविस्मरणीय रहे । रिपब्लिकन पार्टीको गठन, दासप्रथाको अन्त्य, पृथकतावादी गृहयुद्धमा देशको एकताको रक्षा, अमेरिकी समाज र अर्थतन्त्रको आधुनिकीकरण जस्ता योगदानले उनको नेतृत्वलाई अद्वितीय बनायो ।
तर, रुजबेल्ट भने पहिलो र दोस्रो विश्वयुद्ध बीचको अवधिको विशिष्टता र सन् १९३१ को विश्व महामन्दीको विशिष्ट उत्पादन थिए । त्यस्तै चर्चिलको लामो राजनीतिक जीवनका बाबजूद बेलायतका प्रधानमन्त्रीका रूपमा उनको भूमिका र योगदान भने आकस्मिक हो ।
देङको राजनीतिक जीवनमा पनि नियमितताको लामो पाटो नभएको हैन, तर सन् १९७८ मा श्रमशिविरबाट निकालेर माओले देङलाई सत्ता सुम्पिन्छन् भन्ने कसलाई अनुमान थियो र ? सांस्कृतिक क्रान्तिताका अपदस्त गरिएका देङ श्रम शिविरमा राखिएको १२ वर्षभन्दा धेरै भइसकेको थियो ।
नियमित प्रयत्नको पाटोबाट हेर्दा नेपालका नेताहरूको इतिहास एक से एक सुन्दर र गौरवयोग्य छ । जस्तो कि बीपी, गणेशमान, सुवर्ण शमशेर, किशुनजी, गिरिजाप्रसादको भूमिका राणाशाही र निरंकुश पञ्चायती व्यवस्था विरुद्धको संघर्षमा अद्वितीय थियो । अहिलेका शेरबहादुर देउवाको उदय नै संयोगिकभन्दा बढी नियमित प्रयत्न नै हो । कम्युनिष्ट धारका पुष्पलाल, मनमोहन अधिकारीले लामो संघर्षबाट आफ्नो श्रेष्ठता सिद्ध गरे ।
तर, एमाले पार्टी महासचिवका रूपमा मदन भण्डारीको उदय भने संयोगिक थियो । तत्कालीन माले समूहको आन्तरिक संघर्ष र चौथो महाधिवेशन, भारतीय नाकाबन्दी, वाम मोर्चाको गठन, संयुक्त जनआन्दोलन र पञ्चायतको अन्त्य जस्ता संयोगहरू हुँदैनथे भने त्यति सानो उमेर र छोटो अवधिमा उनी लोकपि्रयताको चरमचुलीमा पुग्ने थिएनन् ।
प्रचण्ड-बाबुराम-मोहन वैद्य समूहको संघर्ष, माओवादी आन्दोलन, जनयुद्ध, शान्ति प्रक्रिया, संविधानसभाको निर्वाचन र गणतन्त्रको स्थापना जस्ता घटनाहरू संयोग हैनन, नियमितता प्रधान रहेका, सुविचारित र योजनाबद्ध घटना हुन् । दरबार हत्याकाण्ड र ज्ञानेन्द्र शाहको उदय भने संयोगिक थियो । यदि दरबार हत्याकाण्ड हुँदैनथ्यो र ज्ञानेन्द्र शाहले निरंकुश राजतन्त्रात्मक शासन लाद्दैनथे भने प्रचण्ड-बाबुराम-मोहन वैद्य समूहको नियमित प्रयत्नले मात्र नेपाल ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ बन्थ्यो बन्दैनथ्यो यसै भन्न सकिन्न ।
केपी शर्मा ओली लामो राजनीतिक प्रयत्न अवश्य गर्दै थिए तर मधेश आन्दोलनताका भएको भारतीय नाकाबन्दी र त्यसको प्रतिक्रिया स्वरूप उर्लेको राष्ट्रवादी भावनाको संयोग विना उनको उदय संभव हुने थिएन ।
मधेश राजनीतिमा रामराजाप्रसाद सिंह, गजेन्द्रनारायण सिंह लगायतले लामो प्रयत्न गरे, तर त्योभन्दा धेरै प्रतिफल मधेश आन्दोलन मार्फत उपेन्द्र यादवले दिए । यादवको व्यक्तित्वमा नियमितता र लामो संघर्षको पाटो पनि थियो, तर, उदय भने संयोगिक भयो । भर्खरै जनआन्दोलन-२०६२/६३ जस्तो ठूलो क्रान्ति भएको देशमा माओवादी आन्दोलनको त्यत्रो दबदबाबीच त्यति ठूलो मधेश जनविद्रोह उठ्ला भन्ने कसैले कल्पना गरेको थिएन ।
तसर्थ राम्रो नेतृत्वको अपेक्षा गर्दा हामीले संयोग र प्रयत्नको दोहोरो भूमिका, नियमितता र आकस्मिकता, ऐतिहासिक आवश्यकता र व्यक्तिगत क्षमता जस्ता तत्वहरूको योगदान र प्रतिफललाई इन्कार गर्नुहुँदैन । यो प्रक्रियाभन्दा बाहिर गएर नेतृत्वको खोजी, चाहना र अपेक्षा मनोगत हो ।
तर, यहाँनेर ध्यान दिन योग्य कुरा के छ भने क्षमताहीन वा योग्यताहीन मानिसलाई न प्रयत्नले नेतृत्वमा ल्याउँछ न संयोगले । नियमित प्रयत्नबाट आएको नेतृत्वसँग होस् वा संयोगले उदाएको, दुवै प्रकारको नेतृत्वसँग क्षमता भने हुनै पर्दछ । अन्यथा त्यसले समय र परिस्थितिलाई बुझ्न र सही आकार दिन सक्दैन, फलतः अवसर उम्केर जान्छ ।
नेपाली राजनीतिमा त्यस्ता धेरै व्यक्तित्वले अवसर गुमाएका छन् । जस्तो कि- गणेशमान सिंहले देशको नेतृत्व छोड्दा गिरिजाप्रसादको उदय भयो । किशुनजी छोटो र संक्रमणकालीन कडीको रूपमा देखिए । गिरिजाप्रसादको साटो गणेशमान र किसुनजीले करीब एक दशक देशको नेतृत्व गरेको भए नेपाली कांग्रेसको इतिहास आज अलिक फरक पनि हुनसक्थ्यो ।
कम्युनिष्ट आन्दोलनमा सीपी मैनाली, आरके मैनाली, मोहनचन्द्र अधिकारी जस्ता नेताहरूले लामो संघर्षबाट प्राप्त अवसर क्षमताको अभावमा गुमाए । प्रचण्ड-बाबुराम-मोहन वैद्य समूहले पनि पहिलो संविधानसभा अवधिमा अनावश्यक प्रधानसेनापति काण्डमा फसेर, कृत्रिम प्रकृतिको ६ दिने आमहड्ताल र सत्ताद्रोहको प्रयत्न गरेर, पहिलो संविधानसभाबाटै संविधान दिन सुविचारित रणनीति अपनाउन नसकेर अवसर गुमाएकै हो । यो असफलताको असर सिङ्गो देशको राजनीतिक कोर्समाथि पर्यो ।
समकालीन विश्वमा न्यूजील्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा अर्डन र चीनका राष्ट्रपति सी जिन पिङ सर्वाधिक सफल नेतृत्व मानिन्छन् । त्यसो त जर्मन चान्सलर एन्जेला मार्केलले पनि १६ वर्षको एक भिन्नै इतिहास रचिन् र भर्खरै विदा भइन् । ज्यासिन्डा र सी अहिलेसम्म कोरोना नियन्त्रण र मानवीय क्षति न्यूनीकरण गर्न समेत सफल छन्, जो अरू कुनै देशका लागि असम्भव जस्तो प्रतीत हुन्छ ।
अर्कोतिर अमेरिकाका डोनाल्ड ट्रम्प, ब्राजिलका जायर बोल्सोनारो जस्तो खराब नेतृत्व पनि यही अवधिमा देखिए । भारतका नरेन्द्र मोदीको उदय हुँदा जुनस्तरको अपेक्षा थियो, त्यो विस्तारै धुमिल, शिथिल र अविश्वसनीय हुँदैछ ।
न्यूजिल्याण्ड धेरै चर्चित, ठूलो र शक्तिशाली देश हैन । समकालीन विश्वमा न्यूजिल्याण्डको खासै सामरिक महत्व छैन । यो देश दक्षिण-पश्चिमी प्रशान्त किनारमा अवस्थित ‘कमनबेल्थ’ राष्ट्र हो । क्षेत्रफलमा विश्वको ७५औं र जनसंख्याम १२०औं स्थानमा छ । तर, मानवीय विकास सूचकांकमा भने उच्च १४औं स्थानमा छ । करीब ४० हजार डलर बढी प्रतिव्यक्ति छ ।
न्यूजिल्याण्डमा लेवर पार्टीको स्थापना सन् १९१६ मा भएको थियो । सन् २००८ देखि यो पार्टी निरन्तर प्रतिपक्षमा थियो, पार्टीप्रतिको विश्वास कम हुँदै गएको थियो । यही परिदृश्यमा न्यूजिल्याण्डको राजनीतिमा ज्यासिन्डा अर्डनको उदय भयो ।
सन् २०१७ मा ज्यासिन्डा चुनौतीहीन ढंगले लेबर पार्टीको नेता बनिन् । उनले नेतृत्व हासिल गर्दा संसदमा पार्टीको जम्मा १४ सीट थियो । आफ्नो नेतृत्वकालको पहिलो चुनावमै ४६ सीटमा पुर्याइन् । सन् २०१७ को चुनावमा उनको पार्टी दोस्रो भएको थियो । यसले उनलाई गठबन्धन सरकारको नेतृत्व गर्ने अवसर थियो । पहिलोपटक प्रधानमन्त्री हुँदा उनी ३७ वर्षकी थिइन् । सन् २०२० को अक्टोबर १७ मा भएको ५३औं संसदीय निर्वाचनमा पार्टीलाई एकल बहुमत ६५ सीटमा पुर्याइन् ।
ज्यासिन्डाको उदय नियमित भन्दा बढी संयोगिक हो । लेबर पार्टीले करीब दुई दशकदेखि अस्तित्व संकटको सामना गर्नु नपरेको भए शायद पार्टी नेतृत्वमा उनी सर्वस्वीकार्य हुने थिइनन् । सानो उमेरमै पार्टी नेतृत्वमा नउदाएको भए शायद गठबन्धन सरकारको नेतृत्व गर्ने अवसर पाउने थिइनन् । गठबन्धन सरकारको नेतृत्व गर्न नपाएको भए शायद आफ्नो नेतृत्व गुणस्तरबारे जनतालाई आश्वस्त गर्न सक्ने थिइनन् ।
ज्यासिन्डा अर्डनको नेतृत्व गुणस्तरबारे विभिन्न कोणबाट अध्ययन र चर्चा हुने गरेका छन् । उनको क्षमता, असलपन र सफलताबारे मूलतः पाँच वटा निष्कर्ष निकाल्ने गरिएको छ । एक- गर्न हुने र नहुने कार्यहरूको प्रष्ट सिमाङ्कन, दुई- मातृत्वपूर्ण भावना, तीन- दृढता र आत्मविश्वास, चार- सादगीपूर्ण जीवनशैली, पाँच- व्यवस्थापकीय कला ।
अर्डनका अन्य नेतृत्व गुण आम हुन् तर मातृत्वपूर्ण भावना एक नयाँ योगदान, पहिचान र प्राप्ति हो । जसरी कुनै आमाले आफ्नो सन्तानको कुभलो कहिल्यै चिताउन सक्दिनन्, बरु कैयौं गलत काम गर्न सक्दछिन् तर त्यस्ता गलत भनिएका काम पनि सन्तानकै हितमा हुन्छन् भने जस्तै मातृत्वपूर्ण भावना भएको नेतृत्वले जनताको अहित र कुभलो कहिल्यै चिताउन सक्दैन । अर्डनले कुनै गल्ती नै गरेकी छैनन् भन्ने हैन, तर उनका गल्तीहरूलाई पनि जनताले माफ गर्दिएको देखिन्छ, ताकि उनी जनताप्रति समर्पित छन् ।
जर्मन चान्सलर एन्जेला मर्केलमा पनि यो गुण देखिएको थियो । पुरुष नेताहरूको तुलनामा महिला नेतृहरू जनताप्रति बढी भावुक र संवेदनशील हुन्छन् भन्ने तर्कको पछाडि केही वैज्ञानिक कारण छन् । अभिभावकका रूपमा मातृत्वको दुःख र गौरव पुरुषका तुलनामा महिलासँगै धेरै हुन्छन् । महीनावारी, गर्भावस्था, प्रसव वेदना, स्तनपान र शिशु स्याहारको अनुभव र अनुभूति स्वाभाविक रूपमा महिलामा हुन्छ । यी अनुभव र भावनाले नेतृत्वमा ठाउँ पाउँदा जनताप्रतिको राज्यको संवेदनशीलतालाई बढाउँछ । समकालीन विश्वमा पुरुषभन्दा महिला नेतृहरू बढी सफल देखिनुको एक कारण यो हुन सक्दछ ।
सन् २०१७ मा गठबन्धन सरकारको प्रधानमन्त्री भएसँगै विश्व सञ्चारमाध्यमको ध्यान अर्डनतिर तानियो । उनी निरन्तर चर्चा र प्रशंसाको पात्र बनिन् । तर, त्योभन्दा बढी उनको चर्चा ‘गुणस्तरीय नेतृत्व’ को कारणले हुने गर्यो । उनको कार्यशैलीमा मानवीय संवेदनायुक्त सोच, चुस्त व्यवस्थापकीय क्षमता, जिम्मेवार अभिव्यक्ति, सुशासन, निरन्तर आर्थिक प्रगति, विपक्षीप्रतिको सहिष्णुता, समन्वय, सहकार्य र गतिशीलता अभिव्यक्त भए । विश्वभरि साँघुरो राष्ट्रवाद र डेमागग् कार्यशैलीको बिगबिगी रहेको बेला उनी फरक प्रकारको राजनीतिक नेतृत्व बन्न पुगिन् ।
‘व्यवस्थापकीय नेतृत्व’ (म्यानेजरियल रुल) का सबैभन्दा राम्रा उदाहरण भने सिंगापुरका लि क्वान यु नै थिए । यस्तो नेतृत्वको मुख्य चरित्र ‘प्रयोजनशील कार्यशैली’ (प्रग्माटिष्ट एप्रोच) हो । लि क्वान यु सबै प्रकारका वैचारिक भ्रमबाट मुक्त नेता थिए । उनीसँग एउटै मात्र सपना थियो- सिंगापुरलाई निष्पक्ष र समृद्ध (फेयर एण्ड प्रस्परस) राज्य बनाउने । त्यसका लागि चाहिने सबै ‘आइडिया’ उनको दिमागमा छँदैथिए भन्ने हैन । बरु ठीक उल्टो उनी ती सबै ‘आइडिया’ हरू स्वीकार गर्न तयार थिए, जसले सिंगापुरको समृद्धिमा योगदान गर्न सक्थे ।
नेतृत्व गुणका हिसाबले यो निकै ठूलो साहस, कला र चातुर्यता हो । औसत राजनीतिज्ञहरू आफ्नो वैचारिक स्कुलिङलाई आधार बनाएर निर्णय लिन्छन्- जसले गर्दा देश र जनतालाई भने घाटा हुन्छ । जस्तो कि अहिले नेपालमा कम्युनिष्टहरू एमसीसीको विरुद्धमा छन् । अमेरिकालाई जन्मजात साम्राज्यवाद देख्ने मनोरोगबाट यो भावना निःसृत छ । लि क्वान युको ‘प्रग्माटिष्ट एप्रोच’ बाट हेर्दा यो बिल्कुलै हास्यास्पद र मूर्खतापूर्ण काम हो । लि क्वान यु देशलाई कुनै कुराबाट एककन्चो बराबरको पनि फाइदा हुन्छ भने त्यो अवसर उपयोग गर्न कुनै हिचकिचाहट राख्दैनथे, चाहे जुनसुकै सिद्धान्तले जेसुकै भनोस् ।
देङको सफल उत्तराधिकारको सिद्धान्तले चीनमा सी जिन पिङ जन्मायो । देङ र माओत्सेतुङमा यही कुराको भिन्नता थियो । माओ क्रान्तिकारी थिए तर ‘सिष्टम एप्रोच’ मा काम गर्दैनथे । फलतः क्रान्तिकालमा उनी सफल र निर्माणकालमा असफल भए । माओको यो प्रवृत्तिलाई देङले नसच्याएको भए शायद चीनको आज उत्तरकोरियाको जस्तो हालत हुनेथियो । देङले ‘दुई कार्यकाल’ को जुन नियम बनाए, त्यसले चिनियाँ कम्युनिष्ट पार्टीभित्रको नेतृत्व संघर्ष मत्थर भयो । र नेतृत्व सर्दैसर्दै सि जिन पिङसम्म आइपुग्यो ।
सन् २०१३ बाट सि चीनमा उदाए तर पालोमा उनी छन् भन्ने सन् २००६ पछि नै मानिसलाई परिसकेको थियो । अर्थात् सि उदाएका नेता हैनन्, उदित गराइएका नेता पनि हुन् । बनेका नेता मात्र हैन, बनाइएका नेता पनि हुन् । जन्मेका नेता मात्र हैन, जन्माइएका नेता पनि हुन् । चीनको कम्युनिष्ट पार्टीले योजनाबद्ध रूपमा सि जिन पिङलाई जन्माएको हो ।
यी उदाहरणहरूलाई नेपालको स्थितिसँग तुलना गर्दा यहाँ एक असंगत परिस्थिति बाहेक केही देखिन्न । र अझै एक दशक राम्रो, असल र सफल नेता जन्मिने सम्भावना देखिन्न । हाम्रो ऐतिहासिक अनुभव र ज्ञान संचिति पनि त्यस्तै छ । हाम्रा पृथ्वीनारायण शाह र अमेरिकी जर्ज वासिङगटन समकालीन थिए । शाहलाई शाहवंश फैलाउनु थियो जर्जलाई ‘वासिङगटन राजवंश’ स्थापित गर्नु थिएन- ‘संयुक्त संघीय लोकतान्त्रिक गणतन्त्र’ बनाउनु थियो । त्यो बेलाको अमेरिकामा जर्ज वासिङगटनलाई राजा हुनबाट कसैले रोक्न सक्दैनथ्यो । तर, स्वयं उनी किन राजा हुन चाहेनन्, त्यो ऐतिहासिक चेत किन र कसरी बन्यो, त्यसले नै अमेरिकालाई अमेरिका बनायो र नेपाललाई नेपाल ।
मानौं कि पृथ्वीनारायण शाहले नै राजतन्त्रको साटो गणतन्त्र, एकात्मकताको साटो संघीयता, वंशवादको साटो लोकतन्त्र जेजस्तो अनुपातमा सम्भव छ, जर्ज वासिङगटनले झैं शुरु मात्र गरिदिएका थिए भने आजसम्म नेपाल कस्तो हुन्थ्यो होला ? के त्यस्तो सोच र प्रचलनबाट रणबहादुर शाह जस्तो पागल राजा र जंगबहादुरजस्तो आततायी शासक जन्मिन्थ्यो ? २००७ सालमा त्रिभुवनले संविधानसभाको निर्वाचन गरेर बेलायतमा जस्तो संवैधानिक राजतन्त्रको अवधारणा मान्दिएर हिंडेको भए आजसम्म नेपाल कस्तो हुन्थ्यो होला ? आजका हाम्रा असफलताहरू केवल आजका असफलता मात्र हैनन्, हाम्रो ऐतिहासिक चेत, पिछडापन, स्वार्थी सत्तासंघर्ष र दुष्ट मनोवृत्तिका संचिति पनि हुन् ।
आज पनि हामी ती ‘सामूहिक अवचेतन’ (कलेक्टिभ अन्कन्सस्) बाट मुक्त छैनौं । इतिहासलाई सराप्नु हाम्रो बाध्यता हो, रहर हैन । हामी आज ‘प्रथम विश्व’ मा हुन्थ्यौं भने पुर्खालाई किन उड्की बस्थ्यौं ? दुर्भाग्य कहाँनेर छ भने आजसम्म पनि हाम्रो नेतृत्व गुण, चेत र सौन्दर्य खासै भिन्न छैन । खासै मौलिक, सृजनशील, इतिहास-तादाम्य र परिणाममुखी छैन ।
हाम्रा कांग्रेस र कम्युनिष्ट भनिएका नेताहरूले एक अनुपयुक्त वैचारिक विभ्रम, स्कुलिङको जालो र शक्ति संघर्षको साधनका रूपमा पार्टी संगठन दिए । तर, उपयुक्त शासकीय स्वरूप, गौरव गर्न योग्य राजनीतिक संस्कृति, आर्थिक विकासको प्रष्ट मार्गचित्र, सुशासनका आकांक्षा सम्बोधन गर्न सक्ने संयन्त्र र असल उत्तराधिकार जन्मन, जन्माउन सक्ने परम्परा दिन सकेनन् ।
नेपाल अझै दोसाँधमा छ । अझै एक श्रापित अस्तित्वको नियतिचक्र भित्र छ । सजिलै केही वर्षभित्र यो देश राम्रो बन्ला, विश्वको हाराहारी पुग्ला भन्ने आकांक्षा राख्न सकिने अवस्था छैन । विद्यमान स्थापित नेताहरूको पंक्तिलाई गाली गरेर उनीहरूमा कुनै आत्मानुभूति जाग्ला र मार्गप्रशस्त गर्लान् भन्ने अपेक्षा पनि बेकार छ ।
सबैतिरबाट हाम्रा सम्भावना, सहजपन र सुखका बाटाहरू थुनिएका छन् । तर, एउटा सानो प्वाल भने बाँकी छ । त्यो हो- लोकतन्त्र र यसले दिने स्पेश । तसर्थ हामीले प्रयत्न भने छोड्न हुँदैन । प्रयत्नकै बीचबाट कुनै संयोगले राम्रो नेतृत्व सामुन्ने आउन सक्छ । कम्तीमा एक दशकभित्र, त्यो भन्दा धेरै पर्खिन सकिन्न अब, धेरै ढिलो हुन्छ । विगत तीन दशक जसरी बिते, त्यसरी नै बित्ने हो भने ‘हामी गरीब थियौं, गरीब छौं र गरीब नै रहिरहने छौंÙ हामी भ्रष्ट थियौं, भ्रष्ट छौं, भ्रष्ट नै रहिरहेन छौं ! हामी अक्षम थियौं, अक्षम छौं र अक्षम नै रहिरहने छौं’ भन्ने राष्ट्रगान बनाए हुन्छ ।
https://ift.tt/eA8V8J
प्रतिक्रिया लेख्नुहोस्