![](https://onlineradionepal.gov.np/wp-content/uploads/2021/11/%E0%A4%B0%E0%A5%87%E0%A4%B2%E0%A4%AE%E0%A4%BE%E0%A4%B0%E0%A5%8D%E0%A4%AB%E0%A4%A4-%E0%A4%95%E0%A4%BE%E0%A4%B0%E0%A5%8D%E0%A4%97%E0%A5%8B-%E0%A4%A2%E0%A5%81%E0%A4%B5%E0%A4%BE%E0%A4%A8%E0%A5%80%E0%A4%AE%E0%A4%BE-%E0%A4%A8%E0%A4%BF%E0%A4%9C%E0%A5%80%E0%A4%95%E0%A5%8D%E0%A4%B7%E0%A5%87%E0%A4%A4%E0%A5%8D%E0%A4%B0%E0%A4%95%E0%A5%8B-%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%B5%E0%A5%87%E0%A4%B6-1024x478.jpg)
वीरगंज । नेपालका लागि रेलमार्फत कार्गो ढुवानीमा निजी क्षेत्रको प्रवेशसँगै प्रतिस्पर्धाका आधार विस्तार हुँदै गएको छ भने भाडा दरमा समेत उच्च गिरावट आएको छ ।
भारतीय निजी रेल सेवा प्रदायकहरू अहिले वीरगंज सम्म कार्गो ढुवानी गर्न एक आपसमा प्रतिस्पर्धामा उत्रिएका छन् । भदौ ३० गतेबाट नेपालमा रेल मार्फत कार्गो ढुवानीमा निजी क्षेत्र प्रवेश गरेसँगै भारतीय कन्टेनर निगम (कोन्कर) को एकाधिकार तोडिएको छ ।
हिन्द टर्मिनलको रेल नेपालका लागि कन्टेनर बोकेर वीरगञ्ज सुक्खा बन्दरगाहमा भित्रिएकै दिन कोन्करले आफ्नो भाडा दर ३० प्रतिशत घटाएको थियो ।
प्रतिस्पर्धी कम्पनीलाई प्रभावित पार्ने उद्देश्यले भाडामा ठूलो कटौती गरिएको भन्दै कोन्करको कदमबाट निजी कम्पनीले सेवालाई निरन्तरता दिनेमा आशङ्का गरिए पनि हिन्द टर्मिनलले सेवालाई निरन्तरता दिएको सुक्खा बन्दरगाह सञ्चालक प्रिस्टाइन भ्यालीले बताएको छ ।
प्रिस्टाइनका कार्यकारी निर्देशक बी मोहनले अहिलेसम्म हिन्द टर्मिनलले वीरगञ्ज सुक्खा बन्दरगाहमा सात वटा रेल ¥याक भित्र्याइसकेको जानकारी दिनुभयो । ७ ¥याक कन्टेनर ढुवानी गरी हिन्द टर्मिनलले अहिलेसम्म ६३० ओटा कन्टेनर वीरगञ्ज बन्दरगाहमा ल्याइसकेको छ ।
प्रिस्टाइन भ्यालीको मुख्य साझेदारका रूपमा रहेको भारतीय कम्पनी प्रिस्टाइन लजिस्टिक इन्फ्रा प्रोजेक्ट्सले पनि केही दिनमै सेवा शुरू गर्ने भएको छ । भारतमा बन्दरगाह र रेल सेवा चलाइरहेको जेएन बक्सी समूह पनि कन्टेनर ढुवानीको तयारीमा रहेको व्यवसायीहरूले बताएका छन् ।
कोन्करले भारतको कोलकाता र विशाखापत्तनम् दुवै बन्दरगाहबाट हुने कन्टेनर ढुवानीमा भाडा घटाएपछि अन्य प्रतिस्पर्धी कम्पनीले आयातकर्ता आकर्षित गर्न कोलकाताबाट कस्टम प्रक्रियासहित वीरगञ्जसम्म ढुवानी दिने तयारी थालेका छन् ।
निजी रेल सेवा प्रदायकले कस्टम हाउस एजेन्टको समेत काम गर्न पाउने गरी कोलकाता बन्दरगाह भन्सारलाई आग्रह गरिएको व्यवसायीहरूले बताएका छन् ।
https://ift.tt/3CCKP6h
प्रतिक्रिया लेख्नुहोस्