वीरगंज , साउन २० —
जिल्ला प्रहरी कार्यालय पर्साले विशेष सूचनाको आधारमा २०७ केजी गाँजा जस्तो देखिने लागूऔषधसहित एक पिकअप र चालकलाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्सा मातहत इलाका प्रहरी कार्यालय पोखरिया र प्रहरी चौकी प्रसौनीभाठ्ठाको संयुक्त टोलीले मंगलबार साँझ करिब ६:३० बजे बिन्दवासिनी गाउँपालिका–५ स्थित सडकखण्डमा प्रदेश ३–०१–२४ च ५३८५ नम्बरको टाटा योद्धा पिकअप रोकी जाँच गर्दा उक्त परिमाणको गाँजा बरामद गरेको हो।
प्रहरीका अनुसार सिमेन्टको बोराभित्र लुकाइछिपाइ राखिएको अवस्थामा २०७ केजी गाँजा जस्तो देखिने पदार्थ फेला परेको थियो। घटनामा मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१३ निवासी ४८ वर्षीय कृष्ण लामालाई पक्राउ गरिएको छ।
बरामद लागूऔषध, पिकअप र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिएका छन्।