वीरगंज , साउन २० —
सरकारले सुनसरी र सिरहामा आन्दोलनका क्रममा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पीडित पक्षसँग भएको सहमतिअनुसार सुनसरी घटनाका मृतकका परिवार तथा घाइतेहरूको राहत, क्षतिपूर्ति र उपचारको व्यवस्था गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए। आन्दोलनका क्रममा सुनसरीमा तीन र सिरहामा एक गरी चार जनाको ज्यान गएको थियो।
बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा याङ्की उक्यावलाई नियुक्त गर्ने निर्णय गरेको छ। साथै विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा. डा. खड्गबहादुर केसी र सचिवमा प्रा. डा. रोजेश श्रेष्ठलाई नियुक्त गरिएको छ।
यस्तै मन्त्रिपरिषद्ले तथ्याङ्क पहिलो संशोधन नियमावली–२०८३ स्वीकृत गर्नुका साथै बालबालिकासम्बन्धी पहिलो संशोधन विधेयक–२०८३ सङ्घीय संसद्मा पेश गर्न अनुमति दिएको छ।
बैठकले पशु वधशाला तथा मासु जाँच ऐन–२०५५ चरणबद्ध रूपमा देशभर लागू गर्ने निर्णय गरेको छ। साथै नेपाल इन्टरमोडल यातायात विकास समिति गठन आदेश–२०५४ खारेज गरी समितिलाई नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडमा गाभ्न पनि स्वीकृति दिएको छ।