बारा , भदौ ८ —
सिमराकी तीन वर्षीया बालिकाको बलात्कार तथा हत्या आरोपमा पक्राउ परेका किशोरको बयानको भिडियो सामाजिक सञ्जालमा भाइरल गराएको आरोपमा प्रहरी हवल्दार कुमार विक पक्राउ परेका छन्।
सोमबार अनुसन्धानका क्रममा लिइएको बयानको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि छानबिन गर्दा विकले भिडियो आफ्ना साथीलाई म्यासेन्जरमार्फत पठाएको खुलेको प्रहरीले जनाएको छ। त्यहीँबाट भिडियो सामाजिक सञ्जालमा फैलिएको बताइएको छ।
गोपनीयताको अधिकार हनन गरेको आरोपमा विकलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख नरेन्द्र कुँवरले जानकारी दिए।
बालिकाको बलात्कार तथा हत्या आरोपमा पक्राउ परेका १६ वर्षीय किशोरको बयानको भिडियो सार्वजनिक भएपछि प्रहरीको आलोचना हुँदै आएको थियो।