रुकुम पश्चिम , भाडा ५ –
रुकुम पश्चिमका सहायक प्रमुख जिल्ला अधिकारी केशवप्रसाद ओलीले आफ्नै आमाको नागरिकताको प्रतिलिपिमा हस्ताक्षर गरेको घटना अहिले सामाजिक सञ्जालमा चर्चामा आएको छ।
बुधबार जिल्ला प्रशासन कार्यालयमा पुगेकी त्रिवेणी गाउँपालिका–७ की मोतिकला ओलीलाई नागरिकताको प्रतिलिपि बुझाउने क्रममा उनका छोरा तथा सहायक प्रमुख जिल्ला अधिकारी ओलीले आफ्नै हातले हस्ताक्षर गरेका हुन्।
केही समयअघि पानी परेर नागरिकता च्यातिएपछि मोतिकला प्रतिलिपि लिन जिल्ला प्रशासन कार्यालय पुगेकी थिइन्। त्यही क्रममा सरकारी जिम्मेवारीमा रहेका छोराले आमाको नागरिकताको प्रतिलिपिमा हस्ताक्षर गर्ने अवसर पाएका हुन्।
आफ्नै आमाको नागरिकतामा हस्ताक्षर गर्न पाउँदा खुशी र भावुक बनेका ओलीले उक्त क्षणको भिडियो सामाजिक सञ्जालमा समेत शेयर गरेका छन्। उनले आमाको नागरिकतामा हस्ताक्षर गर्दा हात काँपेको र मन भावुक भएको उल्लेख गरेका छन्।
ओलीले शेयर गरेको भिडियो सामाजिक सञ्जालमा चर्चित भएपछि धेरैले यसलाई सरकारी कर्मचारीका लागि विरलै प्राप्त हुने विशेष अवसर भन्दै उनलाई बधाई दिएका छन्।
छोराको हातबाट नागरिकताको प्रतिलिपि पाउँदा आमा मोतिकला ओली पनि खुशी भएकी छन्।