बारा , भदौ ८ —
तीन वर्षीया बालिका गरिमा चौधरीको आइतबार हिन्दू परम्पराअनुसार अन्त्येष्टि गरिएको छ। बलात्कारपछि हत्या गरिएकी गरिमाको शव गत मंगलबारदेखि कलैया प्रादेशिक अस्पतालको शवगृहमा राखिएको थियो।
सरकार र पीडित परिवारबीच शनिबार मध्यराति तीन बुँदे सहमति भएपछि परिवारले शव बुझेको हो। कलैया उपमहानगरपालिका–१४ बघवनस्थित पसाहा खोलामा गरिमाका बुबा मनोज चौधरीले दागबत्ती दिए।
गरिमाको हत्याविरुद्ध बाराको जीतपुर, परवानीपुर, कलैया, कोल्हवी, वीरगंज तथा काठमाडौंलगायतका क्षेत्रमा भएको आन्दोलन सरकारसँग सहमति भएपछि स्थगित भएको छ।
सहमतिअनुसार जघन्य अपराधमा कसूर तथा सजायसम्बन्धी विद्यमान कानुन पुनरावलोकन गरी सात दिनभित्र सुझावसहितको प्रतिवेदन पेश गर्न सात सदस्यीय ‘गरिमा न्याय संकल्प समिति’ गठन गरिने भएको छ। साथै गरिमाको सालिक निर्माणका लागि पहल गर्ने सहमति भएको छ।
सहमति भएपछि तीन दिनदेखि अवरुद्ध वीरगंज–पथलैया सडकखण्डसमेत सञ्चालनमा आएको छ।