वीरगंज , भदौ ८ —
वीरगंज संगीत कला परिषद्ले वीरगंज पब्लिक कलेजको सभाहलमा कार्यक्रम आयोजना गरी वीरगंजमा संगीतको वातावरण निर्माणका लागि सबैसँग सहयोगको अपिल गरेको छ।
कार्यक्रममा परिषद्का अध्यक्ष दयानन्द ओझैयाले परिषद् गठन भएको चार वर्ष बितिसक्दा पनि आर्थिक अभावका कारण संगीत प्रशिक्षण तथा कार्यक्रम सञ्चालन गर्न नसकिएको बताए। उनले विभिन्न संस्थाजस्तै परिषद् पनि निष्क्रिय नहोस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिए।
कार्यक्रममा वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम, ज्ञानदा एकेडेमीका सीईओ राजेन्द्रप्रसाद कोइराला, ज्योति क्याल, गणेश लाठ, प्रकाश उपाध्याय र जगदीशप्रसाद शर्मालगायतले परिषद्लाई सक्रिय बनाएर संगीतको वातावरण निर्माण गर्न सुझाव दिए।
वक्ताहरूले विद्यालय, मन्दिरलगायत विभिन्न स्थानमा नियमित संगीत कार्यक्रम आयोजना गरी सर्वसाधारणमा संगीतप्रति रुचि बढाउनुपर्ने बताए। संगीत जनजीवनसँग जोडिएपछि मात्रै संस्थाको लक्ष्य पूरा हुने उनीहरूको भनाइ थियो।
कार्यक्रममा शास्त्रीय संगीतका वादनसँगै अशोक प्रधान, सुरज पन्त, डा. अशोक दास, उपेन्द्र चौधरी, शैलेन्द्र श्रेष्ठ र प्रकाश उपाध्यायलगायतले नेपाली तथा हिन्दी गीत प्रस्तुत गरेका थिए।
कार्यक्रममा परिषद्का पदाधिकारी, कलाकार तथा संगीतप्रेमीहरूको सहभागिता थियो। सहभागीहरूले कार्यक्रमले वीरगंजमा संगीतको वातावरण निर्माणमा योगदान पुग्ने बताए।
तस्वीर // प्रतीक दैनिक