रक्सौल , भदौ ८ —
रक्सौलस्थित कालीसेनाको आयोजनामा हरैया पोखराको सातोमाई मन्दिर परिसरमा हरियाली सावन मिलन समारोह सम्पन्न भएको छ।
कालीसेनाकी राष्ट्रिय अध्यक्ष पार्वती तिवारीको नेतृत्वमा आयोजित कार्यक्रममा ग्रामीण महिलाको उत्साहपूर्ण सहभागिता रहेको थियो।
महिलालाई मनोरञ्जनसँगै सिर्जनात्मक तथा बौद्धिक गतिविधिमा सहभागी गराई आत्मविश्वास, सक्रियता र मानसिक विकासमा प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।
समारोहमा म्युजिकल चेयर, बेलुन बैंगल्स, मेहदी र प्रश्नोत्तर गरी चारवटा प्रतियोगिता सञ्चालन गरिएको थियो। मेहदीमा पूर्णिमा देवी प्रथम, रामकली देवी द्वितीय र तोता देवी तृतीय भए।
त्यस्तै, म्युजिकल चेयरमा कुन्ती देवी प्रथम, भवानी देवी द्वितीय र नीलु देवी तृतीय तथा बेलुन बैंगल्समा रिङ्कु देवी प्रथम, पुनीता देवी द्वितीय र आशमा खातुन तृतीय भए। प्रश्नोत्तर प्रतियोगितामा रुखसाना खातुन प्रथम, ललसा देवी द्वितीय र अफसाना खातुन तृतीय भए।
विजेतालाई कार्यक्रमको अन्त्यमा पुरस्कार प्रदान गरिएको थियो। अध्यक्ष तिवारीले महिलालाई सामाजिक रूपमा संगठित गर्दै आत्मविश्वासी, जागरूक, सक्रिय तथा बौद्धिक रूपमा सशक्त बनाउनु संस्थाको उद्देश्य रहेको बताइन्।