वीरगंज , साउन १८ —
वीरगंज महानगरपालिका–७ रेल्वे रोडमा सार्वजनिक बाटो अवरुद्ध गरी निजी घर निर्माण गरिएको आरोपमा स्थानीयवासीले आइतबार विरोध जनाएका छन्। शनिबार रातिको वर्षापछि पानी घर–घरमा पसेपछि स्थानीयहरू आक्रोशित बनेका हुन्।
स्थानीयका अनुसार करिब चार महिनादेखि टिनको घेरा हालेर घर निर्माण भइरहेको छ, जसका कारण आवतजावतमा समस्या हुनुका साथै वर्षाको पानी निकाससमेत अवरुद्ध भएको छ। स्थानीयहरूले सार्वजनिक बाटोमै नाला निर्माण गर्न खोजिएको आरोपसमेत लगाएका छन्।
विरोधपछि वडा नं. ७ का अध्यक्ष हिराकाजी महर्जन र वीरगंज महानगरपालिकाको नगर प्रहरी टोली घटनास्थल पुगेको थियो। स्थानीय र घरधनीबीच केहीबेर विवादको अवस्था सिर्जना भए पनि नगर प्रहरीको उपस्थितिमा स्थिति नियन्त्रणमा आएको थियो।
स्थानीय अजय श्रीवास्तवले यसअघि पनि घरधनीले ३५ दिनभित्र बाटो खाली गर्ने प्रतिबद्धता जनाएको तर कार्यान्वयन नगरेको बताए। शनिबारको वर्षापछि पानी घरभित्र पसेपछि स्थानीय पुनः विरोधमा उत्रिन बाध्य भएको उनको भनाइ छ।
यता स्थानीयवासीले पहुँच र पैसाको बलमा सार्वजनिक बाटो अतिक्रमण गरिएको तथा सम्बन्धित निकायले समयमै कारबाही नगरेको आरोप लगाएका छन्।
वडा अध्यक्ष हिराकाजी महर्जनले भने घरधनीलाई सार्वजनिक बाटो खाली गर्न र घर निर्माणको नक्सा पेश गर्न चार पटकसम्म लिखित पत्राचार गरिएको भए पनि कुनै प्रतिक्रिया नआएको बताए। उनका अनुसार स्थानीयको विरोधपछि घटनास्थल पुगेर बाटोमा राखिएको टिनको घेरा हटाइएको छ।
महर्जनले अब कानुनी प्रक्रिया अनुसार घरधनीलाई जरिवाना गर्ने प्रक्रिया अघि बढाइने जानकारी दिँदै सार्वजनिक बाटो अतिक्रमण कुनै पनि अवस्थामा स्वीकार्य नहुने स्पष्ट पारे।