वीरगंज , साउन १७ —
साफ च्याम्पियनसिप २०२६ को ‘ड्र’ सार्वजनिक भएको छ। अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) को प्रतिबन्धका कारण नेपाललाई तत्काल प्रतियोगितामा समावेश नगरिए पनि प्रतियोगिता सुरु हुनुअघि प्रतिबन्ध फुकुवा भए नेपाल समूह ‘ए’ मा रहने दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले जनाएको छ।
भुटानको थिम्पुमा सार्वजनिक गरिएको ‘ड्र’ अनुसार समूह ‘ए’ मा आयोजक बङ्गलादेश, श्रीलंका र भुटान रहेका छन् भने समूह ‘बी’ मा भारत, माल्दिभ्स र पाकिस्तान परेका छन्।
प्रतियोगिता आगामी नोभेम्बर ४ देखि १७ तारिखसम्म बङ्गलादेशको ढाकामा हुनेछ। दुवै समूहका विजेता र उपविजेता टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।