जनकपुरधाम , भदौ ८ —
मधेश प्रदेशमा प्याजको मूल्य पछिल्लो एक वर्षको तुलनामा बढेको छ। भारतबाट आयात हुने प्याजको मूल्य बढेसँगै त्यसको प्रत्यक्ष असर मधेशका बजारमा परेको व्यवसायीले बताएका छन्। जनकपुरधाममा अहिले प्याज प्रतिकिलो १ सय रुपैयाँसम्म बिक्री भइरहेको छ।
प्याज महँगिएपछि चटपटे, पानीपुरी, समोसा तथा अन्य खाजा व्यवसायीले यसको प्रयोग घटाउन थालेका छन्। गृहिणीहरूले पनि दैनिक भान्सामा प्याजको खपत कम गर्न थालेको बताएका छन्।
आलु–प्याज व्यवसायी संघका महासचिव प्रकाश गजुरेलका अनुसार नेपाल प्याजका लागि करिब ९८ प्रतिशत भारतमा निर्भर छ। भारतमा उत्पादन तथा आपूर्ति घट्नु, ढुवानीमा समस्या र चाडपर्वका बेला माग बढ्नु मूल्यवृद्धिका मुख्य कारण हुन्। भारतबाट नेपालसम्म प्याज ल्याउँदा ल्यान्डिङ कस्ट नै प्रतिकिलो ७० रुपैयाँभन्दा बढी पर्ने व्यवसायीको दाबी छ।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा नेपालले भारतबाट १ करोड ७५ लाख १८ हजार ५६९ किलो प्याज आयात गरेको छ। यसको कुल आयात मूल्य ७१ करोड ८३ लाख ७ हजार रुपैयाँ रहेको छ भने सरकारले ६ करोड ४६ लाख ७० हजार रुपैयाँ भन्सार राजस्व संकलन गरेको छ।
उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिनाले छोटो समयमै प्याजको मूल्य उल्लेख्य बढ्नु सामान्य नभएको भन्दै बजार अनुगमन प्रभावकारी बनाउन सरकारसँग माग गरेका छन्।
चाडपर्व नजिकिँदै जाँदा भारतबाट आपूर्ति सहज नभए प्याजको मूल्य अझ बढ्न सक्ने व्यवसायीको अनुमान छ। यसबाट सीमित आम्दानी भएका परिवार, साना होटल तथा सडकपेटीका खाजा व्यवसायी बढी प्रभावित हुने देखिएको छ।