बारा, साउन २० —
बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ पथलैयास्थित धर्मेश्वर मन्दिर अगाडि दुई दिनदेखि बेवारिसे अवस्थामा रहेको एउटा बोलेरो गाडी फेला परेको छ।
बा १४ च ८९२५ नम्बरको उक्त खाली बोलेरो गाडी लामो समयदेखि सो स्थानमा रोकिएको देखेपछि वडा नं. १ का वडा सदस्य राकेश सुब्बाले मंगलबार बिहान प्रहरीलाई जानकारी गराएका थिए।
जानकारी प्राप्त भएपछि प्रहरी चौकी पथलैयाबाट प्रहरी सहायक निरीक्षक धर्मबहादुर शाहीको नेतृत्वमा खटिएको टोली घटनास्थल पुगेको थियो। प्रहरीले गाडीलाई नियन्त्रणमा लिई प्रहरी चौकी पथलैयामा ल्याउने प्रक्रिया अघि बढाएको जनाएको छ।
प्रहरीका अनुसार गाडी फेला परेको स्थान प्रहरी चौकी पथलैयाबाट करिब एक किलोमिटर पूर्व–दक्षिणतर्फ बीबी मार्ग नजिक पर्छ। गाडी कसले र किन त्यहाँ छाडेको भन्ने विषयमा प्रहरीले थप अनुसन्धान सुरु गरेको छ।