वीरगंज , साउन १७ —
मनसुन सक्रिय भएसँगै आज देशका केही स्थानमा मुसलधारे तथा धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकासहित ३७ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको भन्दै सतर्क रहन आग्रह गरिएको छ।
महाशाखाले कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने जनाएको छ। साना नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले तटीय क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।
मौसमविद्का अनुसार आज र भोलिसम्म मनसुन पूर्ण सक्रिय रहने भएकाले अत्यावश्यकबाहेक पहाडी सडकमा यात्रा नगर्न सुझाव दिइएको छ। विशेषगरी बीपी राजमार्गको धुलिखेल–रोशी–मुलकोट र पृथ्वी राजमार्गको नौबिसे–मलेखु–मुग्लिन खण्डमा सडकको अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध गरिएको छ।