वीरगंज , साउन २९ –
वीरगंज महानगरपालिका–११ श्रीपुरस्थित एक औषधि फर्ममा प्रहरीले चेकजाँच तथा खानतलासी गर्दा अवैधरूपमा औषधि उत्पादन तथा स्टिकर लेबलिङ गरेको पाइएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी नायब उपरीक्षक राजु कार्की र वडा प्रहरी कार्यालय श्रीपुरबाट प्रहरी निरीक्षक नवीन थापा मगरको संयुक्त टोलीले बुधबार दिउँसो आरपी फर्मास्युटिकल्स प्रालिमा चेकजाँच तथा खानतलासी गरेको थियो।
खानतलासीका क्रममा अवैधरूपमा औषधि उत्पादन तथा स्टिकर लेबलिङ गरेको पाइएको प्रहरीले जनाएको छ। औषधि व्यवस्था विभागका निरीक्षक मुकेशकुमार राउत, रवि चौधरी र अमर शर्मा तथा घरेलु तथा साना उद्योग कार्यालयका कर्मचारीको उपस्थितिमा फर्मका सञ्चालक राहुलकुमार चौहानलाई नियन्त्रणमा लिइएको हो।
नियन्त्रणमा लिइएका चौहानलाई आवश्यक कारबाहीका लागि वडा प्रहरी कार्यालय श्रीपुरमा राखिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको छ।
