लहान, साउन २० —
सिरहाको लहान नगरपालिका–२२ सलोखरीबाट प्रहरीले अवैध पेस्तोलसहित तीन जना युवकलाई पक्राउ गरेको छ।
प्रहरी चौकी सितापुरबाट खटिएको नियमित गस्ती टोलीले मंगलबार राति करिब ११ बजे शंकास्पद अवस्थामा रहेका तीन जनालाई जाँच गर्ने क्रममा ९ एमएम जस्तो देखिने म्यागजिनसहितको एक थान पेस्तोल बरामद गरेको हो।
पक्राउ पर्नेमा २० वर्षीय सबरजीत दास, २० वर्षीय गुरुदेव दास र १९ वर्षीय संजय दास रहेका छन्। बरामद पेस्तोल सबरजीत दासको पाइन्टको दाहिने गोजीबाट फेला परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रमेशबहादुर पालका अनुसार पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय लहानमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको छ।