पर्सा , भदौ ११ —
कैलाश मानसरोवर यात्राबाट फर्किने क्रममा नेपालमा आफ्नो समूहका ८० जना यात्रु सम्पर्कविहीन भएको सद्गुरुले बताएका छन्।
सद्गुरुका अनुसार सम्पर्कविहीन यात्रुहरूमा अमेरिकाका २२, क्यानडाका १२, अस्ट्रेलियाका ११, बेलायतका ९, जर्मनीका ४ तथा फ्रान्स र नेपालका ३–३ जना रहेका छन्।
त्यस्तै नेदरल्यान्ड्स, न्युजिल्यान्ड, सिंगापुर र स्पेनका २–२ जना तथा फिनल्यान्ड, हंगेरी, इजरायल, लिथुआनिया, फिलिपिन्स, पोर्चुगल, रूस र दक्षिण अफ्रिकाका १–१ जना यात्रु सम्पर्कविहीन रहेको उनले बताएका छन्।
नेपालमा आएको बाढीका कारण यात्रुहरूसँग सम्पर्क हुन नसकेको जनाउँदै सद्गुरुले उनीहरूको अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्। यात्रुहरूको खोजी तथा उनीहरूको अवस्थिति पत्ता लगाउने प्रयास भइरहेको जनाइएको छ।
घटनापछि सम्पर्कविहीन यात्रुका परिवार तथा आफन्तमा समेत चिन्ता बढेको छ। यात्रुहरूको वास्तविक अवस्था र उनीहरूको उद्धारसम्बन्धी थप विवरण आउन बाँकी छ।