बारा । पथलैया युनाइटेड क्लबले दोस्रो पथलैया टाउन कप फुटबल प्रतियोगितामा वीरगंजलाई टाइब्रेकरमा ३–२ ले पराजित गरेको छ ।
पथलैयास्थित थानीमाई मन्दिरको खेल मैदानमा भएको उदघाटन खेलमा निर्धारित समयमा दुवै टिमले गोलरहित बराबरी खेलेपछि पथलैया युवा स्पोर्टस् क्लबले नतिजा टाईब्रेकरबाट निकालिएको हो । टाइब्रेकरमा वीरगंजका एक खेलाडीको प्रहार पोष्टमा ठोक्किएर फर्किएको थियो । खेलको प्लेयर अफ दि म्याच पथलैयाका गोलरक्षक घोषित भए ।
प्रतियोगिता अन्तर्गत बिहीवार दुर्ई खेल हुनेछ । पहिलो खेलमा औराह फुटबल क्लब र बिवाईसी भिड्नेछन् भने योङ ब्वाईज र तमु फुटबल क्लबबीच दोस्रो खेल हुनेछ । पथलैया टाउन एफसीको आयोजनामा शुरू भएको प्रतियोगितामा २२ टिमको सहभागीता रहेको छ । प्रतियोगिताको विजेताले ३० हजार र उपविजेताले २० हजार नगद प्राप्त गर्नेछन् ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १ को कार्यालय प्रतियोगिताको मुख्य प्रायोजकका रूपमा रहेको छ भने थानीमाई ढुवानी सेवा सहप्रायोजक रहेको छ । प्रतियोगितालाई थानीमाई एफसी र पथलैया दिव्यज्योती क्लब सहयोगीका रूपमा रहेका छन् । भायोनेट प्रतियोगिताको इन्टरनेट पार्टनरका रूपमा रहेको छ ।
यसअघि प्रतियोगिताको उदघाटन नेपाली कांग्रेसकी युवा नेतृ मेघा शाहीले गरेकी थिइन् । उदघाटन समारोहमा नेतृ शाहीसहित पथलैयास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उदयबहादुर श्रेष्ठ, पूर्वजनप्रतिनिधि रामदास धौजुलगायतले मन्तव्य राखेका थिए ।
पथलैया टाउन एफसीका अध्यक्ष दीप राईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण सुरेश विकले गरेका थिए ।