जनकपुरधाम । प्रदेश नंं २ को निवर्तमान प्रदेश प्रमुख डा.राजेश झा (अहिराज) ले आफूले १ सय ८० दिनको कार्यकालमा शिरमा देश तथा मनमा मधेसको भावना राखेर प्रदेशको सेवा गरेको बताउनुभएको छ ।
प्रदेश प्रमुखबाट पदमुक्त भएपछि प्रदेश प्रमुखको कार्यालय एवं निवास छाड्नुअघि आज आयोजना गर्नु भएको पत्रकार सम्मेलनमा डा.झाले यस अवधिमा प्रदेश नंं २ को ८ वटा जिल्लाको भ्रमण गरेर प्रदेशवासीको भावना एवं चाहना बुझेर पद अनुसार सम्बोधनका लागि प्रयास गरेको बताउनुभयो ।
उहाँले निजामती सेवाका कर्मचारीको मनोबल उच्च बनाउनका लागि आफूले प्रदेश प्रमुखको कार्यालयमा भएका कर्मचारीहरूबाट नै सचिवालय सञ्चालन गरेको बताउनुहुँदै आफूलाई यस अवधिमा कर्मचारी, पत्रकार तथा नागरिक समाजको पूर्ण साथ एवं सहयोग रहेको महसुस गरेको बताउनुभयो ।
निवर्तमान प्रदेश प्रमुख डा.झाले प्रदेश प्रमुख पदबाट हटेपछि प्राप्त गर्ने कुनै प्रकारको सेवा तथा सुविधा नलिने घोषणा गर्दै आफ्नो निजी सवारी साधनबाट केही थान पुस्तकहरू तथा एक वटा झोला लिएर कार्यालयबाट बाहिर निस्कनुभएको थियो ।
उहाँले देशभक्ति सीमा सुरक्षा र नागरिकताको सवालमा सम्झौता हुन नहुने बताउनुहुँदै समावेशीता समानुपातिकताको सवालमा मुख्यमन्त्रीलाई पटक पटक ध्यानाकर्षण गर्दै आएको बताउनुभयो ।
उहाँले आफूले काम गरेको ५ महिना २४ दिनको अवधिमा गर्नुभएको कामको सँगालो प्रदेश प्रमुखको कार्यालयका सचिव ध्रुव गैँडा तथा नेपाल पत्रकार महासङ्घ धनुषाका अध्यक्ष मनिका झालाई हस्तान्तरण गर्नुभएको थियो ।
निवर्तमान प्रदेश प्रमुख डा. झाले सबल सुन्दर तथा साझा प्रदेश निर्माणका लागि आफू जहाभएपनि काम गर्ने बताउनुहुँदै नयाँ नियुक्त हुनुभएका प्रदेश प्रमुख हरि शंकर मिश्रको पूर्ण तथा सफल कार्यकालका लागि शुभकामना पनि दिनुभयो ।
प्रतिक्रिया लेख्नुहोस्