वीरगंज । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले विकास निर्माणका साथै शान्ति सुरक्षाको प्रत्याभूति अहिले जनताको आधारभूत अधिकार भएको बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय पर्सा तथा वीरगंज उद्योग वाणिज्य सङ्घको संयुक्त आयोजनामा प्रदेश २ को एक मात्र महानगरपालिका वीरगंजलाई सुरक्षित बनाउने उद्देश्यले नगर क्षेत्र भित्र जडान गरिएका सिसिटिभी क्यामराको नियन्त्रण कक्ष भवन तथा सिसिटिभी लिड भिडियो वालको आज एक कार्यक्रमका बीच जिल्ला प्रहरी कार्यालय पर्साको परिसरमा उद्घाटन गर्दै मुख्यमन्त्री राउतले बीरगंज महानगरको सुरक्षालाई प्याकेज बनाएर लैजानु पर्ने कुरामा जोड दिनुभयो । उहाँले अपराधीहरू नयाँ नयाँ 'टेक्निक' तथा प्रविधि अपनाएर अपराध गर्न थालेसँगै अपराध नियन्त्रणमा चुनौती थपिएको हुँदा प्रविधिको अधिकतम प्रयोग गरी अपराध नियन्त्रण गर्नु पर्ने कुरामा जोड दिनुभयो ।
मुख्यमन्त्री राउतले प्रदेश नम्बर २ को एक मात्र महानगरपालिका वीरगंजको अवस्था दयनीय रहेको बताउँदै वीरगंजको समग्र विकासका लागि वीरगंज विकास प्राधिकरण बनाउने योजना प्रदेश सरकारको रहेको खुलासा गर्नु भयो ।
उहाँले वीरगंजका उद्योगी, व्यवसायी, सबैको सामूहिक प्रयासबाट नै सुरक्षा र विकास अगाडी बढाउन सकिने कुरामा जोड दिनुभयो ।
मुख्यमन्त्री राउतले प्रदेश सरकार ८ वटै जिल्लामा पर्ने राजमार्गमा सिसिटिभी क्यामरा जडान गर्ने कार्यमा अग्रसर रहेको बताउँदै दुर्घटना तथा अपराध कम गर्न यसले प्रभावकारी भूमिका खेल्ने दाबी समेत गर्नुभयो ।
उहाँले प्रदेशको सुरक्षा के गर्दा कायम गर्न सकिन्छ, त्यो गर्न प्रदेश सरकार तयार रहेको बताउँदै प्रदेश प्रहरी प्रमुख उमेश रन्जितकारलाई ठोस कार्य योजना ल्याउन आग्रह समेत गर्नुभयो ।
सेफर वीरगंजका अध्यक्ष मनोज दासको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश सभा सदस्य प्रह्लाद गिरी, सिंहासन साह, मन्जुर अन्सारी, जन्नत अन्सारी, पर्साका प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरे, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोध गुप्ता, पर्सा जिल्ला स्थित विभिन्न सरकारी कार्यालयका प्रमुखहरू, सुरक्षा निकायका प्रमुखहरू, सञ्चारकर्मी, राजनीतिक दलका प्रतिनिधिहरू, उद्योगी व्यवसायीहरू लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया लेख्नुहोस्