वीरगंज, ५ असोज ।
बीएमपी स्पाईसेसको स्टिकर टाँसेर स्थानीय मसला बिक्री गरेको आरोपमा प्रहरीले पर्साका एक मसला उद्योगीलाई पक्राउ गरेको छ । प्रहरीले बीरगन्ज महानगरपालिका–८ निवासी रोहित साह कानुलाई पक्राउ गरेको हो ।
कानुले अन्नपुर्ण मसला उद्योगका मसलाहरूमा बीएमपी स्पाईसेस उद्योगको ट्रेडमार्क र डिजाईनर लेबल प्रतिलिपि टाँस गरी वीरगंज महानगर तथा अन्य स्थानहरूमा बिक्री वितरण गर्ने गरेको प्रहरीले जनाएको छ ।
६ सय ५४ पोका मसला, १० बोरा कच्चा पदार्थ तथा मसला पिस्ने मेसिन एक थान तथा चटकेर बीएमसी स्पाईसेस उद्योगको ट्रेडमार्क र डिजाईनर लेबलहरू समेत बरामद गरिएको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले बताए ।
पक्राउ परेक कानुलाई प्रतिलिपि अधिकार ऐन २०५९ अन्तर्गतको कसुरमा अदालतबाट ५ दिनको म्याद थप गराई अनुसन्धान भइरहेको खनालले बताए ।
प्रतिक्रिया लेख्नुहोस्