वीरगंज । पहिलो चरणमा कोरोना सङ्क्रमणको हटस्पोर्ट बनेको वीरगंज तथा पर्सा जिल्लामा अहिले सम्म २ लाख २ हजार १ सय ७७ जनाले कोरोना संक्रमण विरुद्धको खोप लगाएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय पर्साका प्रमुख नवलकिशोर साहले भदौ मसान्त सम्म १ लाख ३ हजार ५९ जनाले खोपको पूर्ण डोज लिएको र भदौ यता ९९ सय हजारले पहिलो खोपको डोज लगाएको बताउनुभयो ।
पर्सामा कुल जनसङ्ख्याको २४ प्रतिशतले पूर्ण डोजको खोप लगाएको छ भने पूर्ण खोप र पहिलो खोप गरी झण्डै ३० प्रतिशत भन्दा बढीले पर्सामा खोप लगाएको साहले दाबी गर्नुभयो । पर्सा जिल्लामा हालसम्म कोभिसिल्ड, जोन्सन एन्ड जोन्सन, भेरोसेल र एस्ट्राजेनेका खोप दिइएको साहले बताउनुभयो ।
जिल्लामा चरणबद्ध रुपमा स्वास्थ्यकर्मी, महिला स्वयंसेविका, सरसफाइकर्मी, कोरोना संक्रमित मृतकको शवको व्यवस्थापनमा खटिएका र अन्य सुरक्षाकर्मी, सञ्चारकर्मी, कारागारका कैदीबन्दी र त्यसपछि सर्वसाधारणलाई खोप लगाइएको साहले बताउनुभयो ।
सर्वसाधारणहरूमा खोप लगाउँदा ज्येष्ठ नागरिक र मुटु, मधुमेह, उच्च रक्तचाप लगायतका दिर्घरोगीहरुलाई प्राथमिकतामा राखिएको साहले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय पर्साले दिएको तथ्याङ्क अनुसार आज सम्म पर्सामा अझै १३ जना सक्रिय कोरोना संक्रमित रहेको र उनीहरू होम आइसोलेसनमा रहेका छन् । पर्सामा पहिलो र दोस्रो चरणमा कोरोना सङ्क्रमणको कारण १ सय ९६ जनाको मृत्यु भएको छ भने पर्सा जिल्ला बाहिरका वीरगंजका विभिन्न अस्पतालमा उपचारार्थ भर्ना भएका २ सय ३४ जनाको मृत्यु भएको छ ।
दुवै तथ्याङ्कलाई जोड्दा पर्सा जिल्ला तथा बाहिरबाट आएका गरी वीरगंजका विभिन्न अस्पतालमा भर्ना भएका संक्रमितहरु मध्ये ४ सय ३० जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले आज सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।
पर्सा जिल्लामा कोरोना सङ्क्रमणको कारण गत असार यता मृत्युदर शून्य रहेको तथ्याङ्कमा उल्लेख छ ।
https://ift.tt/2XN2Dxe
प्रतिक्रिया लेख्नुहोस्