वीरगंज । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले देशमा आमूल परिवर्तन ल्याउन सञ्चार क्षेत्रले खेलेको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै सञ्चार गृह तथा सञ्चारकर्मीको हक, हित र अधिकारका लागि सरकार सदैव क्रियाशील रहेको बताउनु भएको छ ।
नारायणी एफएम वीरगंजको १६ औँ वार्षिकोत्सवको अवसरमा आज बीरगंजमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले ओझेलमा परेका विषय वस्तुलाई सञ्चारमाध्यमले उठान गरी समस्या समाधानका लागि सहजीकरणको भूमिका खेल्दै आएको बताउनुभयो ।
उहाँले प्रदेश नम्बर २ को शैक्षिक सूचांक ७ वटा प्रदेश मध्ये सबै भन्दा न्यून रहेको हुँदा यस क्षेत्रको शैक्षिक विकासका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारको सामूहिक प्रयास आवश्यक रहेको कुरामा जोड दिनुभयो ।
शिक्षामन्त्री पौडेलले नेपालको प्रमुख प्रवेशद्वार राजस्व असुलीको केन्द्र बीरगंज भएको बताउँदै बीरगंजले राज्यलाई पुर्याएको योगदानको प्रतिफल पाउनु पर्ने कुरामा जोड दिनुभयो ।
उहाँले वीरगंज क्षेत्रको शैक्षिक, औद्योगिक, पूर्वाधार विकासका लागि सरकार लागि पर्ने कुरामा जोड दिँदै सङ्कटकालीन अवस्थामा आफूले वीरगंजबाट पाएको मायाले माइती घर आएको जस्तो लाग्ने बताउनु भयो ।
आर्थिक केन्द्र शैक्षिक विकासमा पछि पर्नुको कारण खोजेर वीरगंजलाई आर्थिक सँगै शैक्षिक क्षेत्रको समेत केन्द्र बनाउनु पर्ने कुरामा मन्त्री पौडेलले जोड दिनुभयो ।
कार्यक्रममा प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहले प्रदेश २ का सञ्चार गृह तथा सञ्चारकर्मीको संस्थागत विकासका लागि ठोस नीति बनाएर प्रदेश सरकार अगाडि बढ्न लागेको बताउनु भयो ।
सामुदायिक रेडियो नारायणी बीरगंजका अध्यक्ष गोविन्द देवकोटाको सभापतित्वमा सम्पन्न कार्यक्रममा बीरगंज महानगरपालिकाका नगर प्रमुख विजय सरावगी, पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकाल, उद्योग वाणिज्य महासङ्घ प्रदेश नम्बर २ का अध्यक्ष गणेश लाठ, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोध गुप्ता, नारायणी एफएमका संस्थापक अध्यक्ष रमेश भट्टराई, संस्थापक स्टेसन मेनेजर डा.शिवराम तिवारी, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, उद्योगी व्यवसायी, सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।
यसअघि शिक्षामन्त्री पौडेलले आजै वीरगंजमा आयोजित नेशनल प्याब्सन पर्साको ८ औँ जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारीहरूको पदस्थापन कार्यक्रमलाई समेत सम्बोधन गर्नु भएको थियो ।
https://ift.tt/3Es0y9z
प्रतिक्रिया लेख्नुहोस्