
बारा । बाराको सिमरास्थित विशेष आर्थिक क्षेत्र (सेज) प्राधिकरण सिमरामा सरकारले करिब ५ अर्ब लगानी गरेको छ ।
८ सय ३३ बिघा क्षेत्रफल रहेको सिमरा सेजको ‘ए ब्लक’ को ३ सय ४३ बिघामा सडक पूर्वाधार निर्माणमा मात्रै १ अर्ब खर्च भएको छ भने प्रशासनिक, बैङ्क, बिमा, हुलाक, स्वास्थ्य चौकी, भन्सार, बालबालिकाका लागि ‘डे केयर’, सार्वजनिक शौचालय निर्माणमा ४० करोड, दुधौरा खोला तटबन्धमा ५० करोड, पर्खाल निर्माणमा ३० करोड‚ दुधौरा ‘बी ब्लक’ को पर्खाल निर्माणका ८ करोड खर्च भइसकेको छ ।
व्यापार घाटा कम गर्ने र रोजगारी सिर्जना गर्ने उद्देश्यले सरकारले सिमरा सेजमा सुविधा सम्पन्न प्रशासनिक भवनसहित सडक, बैङ्क, बिमा, हुलाक भन्सार, स्वास्थ्य चौकी, बालबालिकाका लागि डे केयर, नदी तटबन्ध, खानेपानी लगायतका भौतिक पूर्वाधार निर्माणमा लगानी गरेको हो ।
विशेष आर्थिक क्षेत्र प्राधिकरणका इन्जिनियर दिनेश न्यौपानेले एक दशकको अवधिमा पटक पटक गरी सिमरा सेजमा मात्रै नेपाल सरकारको करिब ५ अर्ब लगानी भइसकेको जानकारी दिनुभयो । एक दशकको अवधिका विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने नाममा १ करोडभन्दा धेरै खर्च भइसकेको इन्जिनियर न्यौपानेले बताउँनुभयो ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २ वर्षभित्र सञ्चालनमा ल्याउने गरी ०७४ चैत १८ गते शिलान्यास गर्नु भएको थियो । गार्मेन्ट प्रोसेसिङ जोन सञ्चालन गर्ने उद्देश्यले सुरु गरिए पनि व्यवसायीले चासो नदेखाएपछि उद्योग मन्त्रालयले सेजमा निर्यातमूलक उद्योगलाई खुला गरेको हो ।
https://ift.tt/3CwNr6c