वीरगंज । अर्थतन्त्रमा महिलाको सक्रिय सहभागिताबाट मात्रै आर्थिक समृद्धि हासिल गर्न सकिने निष्कर्ष सहित वीरगंजमा नेपाली महिला उद्यमी सम्मेलन सम्पन्न भएको छ ।
सय जना भन्दा बढी महिला उद्यमीको सहभागिता रहेको सम्मेलनले महिलाहरूलाई उद्यमशीलतामा अघि बढ्न प्रोत्साहन दिनुका साथै नेपालको उद्यम व्यापारका क्षेत्रमा महिलाहरूको सहभागिता निकै न्यून रहेको परिप्रेक्षमा अब महिला उद्यमीहरूको सङ्ख्यात्मक र गुणात्मक रुपमा समेत वृद्धि हुने विश्वास लिइएको छ ।
सम्मेलनबाट उद्यमका क्रममा आइपर्ने समस्याको समाधान र सम्भावनाको पहिचान तथा उपयोगका उपायका बारेमा वृहत् छलफल भएको सम्मेलनको आयोजक नेपाली उद्यमी मञ्चका अध्यक्ष अनुप अग्रवालले बताउनुभयो ।
कार्यक्रमको उद्घाटन गर्दै प्रदेश नं २ का ऊर्जा तथा खानेपानी विकास मन्त्री ओमप्रकाश शर्माले आर्थिक रुपमा महिला सशक्तीकरण विना अपेक्षित आर्थिक तथा सामाजिक विकास सम्भव नहुने बताउनुभएको छ ।आर्थिक रुपमा महिला सशक्तीकरणको विषय जोडतोडले अगाडि आए पनि नेपालका महिलाले आर्थिक क्रियाकलापमा सहभागिताको अवसर नपाएको मन्त्री शर्माले उल्लेख गर्नुभयो ।
उहाँले उद्यम व्यापारमा युवा महिलालाई अघि बढाउन नीतिगत व्यवस्थाको खाँचो रहेको कुरामा समेत जोड दिनुभयो ।
कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोधकुमार गुप्ताले उद्यममा महिलाको उल्लेख्य सहभागिता आवश्यक भएको बताउँदै महिला उद्यमी र उद्यमशीलता प्रवर्द्धनमा सङ्घले सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा वीरगञ्जकी ८० वर्षीया ज्येष्ठ महिला उद्यमी भगवती अग्रवाल सहित १० जना महिला उद्यमीलाई सम्मान गरिएको थियो ।
https://ift.tt/3vDzVuX
प्रतिक्रिया लेख्नुहोस्