जनकपुरधाम । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत धनुषामा सञ्चालित कृषि पकेट कार्यक्रम प्रभावकारी नभएकोमा आज जनकपुरधाममा आयोजना गरेको कार्यक्रममा सरोकारवाला निकायले चिन्ता व्यक्त गर्नु भएको छ ।
कृषि उत्पादन बढाउनका लागि तीनै तहका सरकारले सञ्चालन गर्ने गरि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत स्थानीय तहबाट पकेट कार्यक्रम, प्रदेश सरकार मार्फत ब्लक कार्यक्रम तथा सङ्घीय सरकारले सञ्चालन गरेको कार्यालय मार्फत ७७ जिल्लामा नै जोन तथा सुपरजोन कार्यक्रम सञ्चालनमा रहेको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई धनुषाले जिल्लाका १८ पालिकामा सञ्चालन गरेको पकेट कार्यक्रम प्रभावकारी नभएकोमा चिन्ता व्यक्त गर्दै चालु आर्थिक वर्षमा प्रभावकारी बनाउनका लागि समयमा कार्यक्रम गर्नका लागि सहभागीले आग्रह गरेका थिए ।
सहभागीहरुले गत आर्थिक वर्षमा धनुषाको १८ पालिका मध्ये जनकपुरधाम उपमहानगरपालिका, औरही तथा वटेश्वर गाउँपालिकाले पकेट कार्यक्रम सञ्चालन नगरेको कारणले यसको लाभ किसानले पाउन नसकेको बताउनु भयो । कृषिमा मुलुकलाई आत्म निर्भर बनाउनका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना १० वर्षका लागि सञ्चालन गरेको छ । २०७३ श्रावण देखि २०८३ श्रावणसम्मका लागि परियोजना सञ्चालनमा रहेको छ ।
चालु आर्थिक वर्षमा धनुषाको १८ पालिकामा पकेट कार्यक्रम गर्नका लागि ४ करोड ६२ लाख २७ हजार विनियोजन गरेको परियोजनाको समन्वय इकाईका प्रमुख युगल किशोर तिवारीले बताउनुभयो । समयमा काम गर्नका लागि पनि पालिकाका कर्मचारीहरूसँग आग्रह गर्नु भयो ।
जिल्ला समन्वय समिति धनुषाका प्रमुख रामदेव वनरैत यादवले गत वर्ष समयमा काम नगरेको बताउँदै यस वर्ष पकेटको कार्यक्रम गर्नका लागि आग्रह गर्नु भयो । गत वर्ष धेरै रकम रकम फ्रिज भएकोमा चिन्ता व्यक्त गर्नु भयो । कार्यक्रममा धनुषा जिल्लाको १८ पालिकामा कार्यरत रहेका कृषि तथा भेटेरिनरी शाखामा कार्यरत रहेका कर्मचारीहरू सहभागी रहेका थिए ।
कार्यक्रममा ब्लक, जोन तथा सुपरजोन कार्यक्रमका विषयमा पनि छलफल भएका थिए । ब्लक कार्यक्रमको विषयमा कृषि ज्ञान केन्द्र धनुषाका प्रमुख शङ्कर साहले पनि धारणा राखेका थिए ।
https://ift.tt/3a2GMnR
प्रतिक्रिया लेख्नुहोस्