१५ असोज, काठमाडौं । कतै कच्ची र कतै पक्की सडक छिचोल्दै सीतापाइला चोकबाट चार किलोमिटर उत्तर पश्चिम लागेपछि ‘रामकोट स्तुपा’ भन्ने ठाउँमा पुगिन्छ । देशको केन्द्रीय राजधानी शहर काठमाडौं उपत्यकाको नागार्जुन नगरपालिका ६ मा पर्ने उक्त ठाउँ महाँकाल र त्रिवेणी खोलाको दोभान पनि हो । अहिले यो गाउँका बासिन्दालाई जान-आउन चरम सकस छ ।
खोलाको त्यही दोभानमाथि गत वैशाखसम्म एउटा साँघुरो पक्की पुल (कल्भर्ट) थियो । जुन, पुलले पारीपट्टीको महाँकाल र गोदामथोकको करिब ३ सय वस्तीलाई काठमाडौंसँग जोड्थ्यो । गत वैशाखमा नयाँ पुल बनाउन भन्दै ठेकदारले पुरानो पुल भत्काए, तर नयाँ पुल नबनाई सम्पर्कविहीन भए ।
समयमै पुल नबन्दा चक्रपथबाट चार किलोमिटरको दूरीमा रहेको दुई वस्ती नगरपालिका र काठमाडौं सिधा सम्पर्कबाट टाढियो । स-साना सयौं उद्योग र तीन सय परिवारका १५ सय भन्दा धेरै मानिसहरुको काठामाडौं ओहोरदोहोर गर्न थप एक घण्टाको बाटो धाउनुपर्ने बाध्यता आइलागेको स्थानीयबासी गंगाराम मानन्धरले बताए ।
‘छदाँ खाँदाको पुल भत्काएर समयमै अर्को पुल नबन्दा ६ महिनादेखि अप्ठ्यारो झेलि रहेका छौं,’ मानन्धरले दुखेसो पोखे । जनताको मत पाएर पनि नगरपालिकाका जिम्मेवार अधिकारीले आफ्नो भूमिका निर्वाह नगर्दा काठमाडौंमै दुर्गम भएर बस्नु परेको अर्का स्थानीयबासी माधब दाहालले बताए ।
६ महिनामा पनि बनेन ८ मिटर लामो पुल
नागार्जुन नगरपालिकाको वटा नम्बर ६ र ७ जोड्ने त्रिवेणी खोलामा ८ मिटर लामो पक्की पुल बनाउन नगरपालिकाले गत वैशाखमा बोलपत्र आहृवान गरेको थियो । बोलपत्रमा कविता भट्टराईको काठमाडौं कन्स्ट्रकसन प्रालीले ठेक्का पाएको पायो ।
ठेक्का पाएको केही दिनमै आएर पहिलेको पुल भत्काएको ठेकदार कम्पनीले ६ महिनासम्म पक्की पुल नबनाएको स्थानीय बासिन्दा दिनेशकुमार थापाले बताए । ‘समयमै पुल नबनाउनेले किन पुरानो पुल भत्कायो, बुझ्न सकिएन,’ उनले भने,’पुल नहुँदा बस्तीसम्म एम्बुलेन्स समेत छिर्न पाएको छैन ।’
एकदमै छिटो पुरानो पुल भत्काएको ठेकदारले नयाँ पुलको काम भने निकै ढिलाइ गरेको र वैकल्पिक बाटो पनि सहज नहुँदा निकै दुःख झेल्नु परेका अर्का स्थानीयबासी गोविन्दहरी गोतामेले बताए । ६ महिनामा ठेकदारले बल्ल बल्ल पुलको संरचना निर्माण गरेको तर निर्माण सकिने बेलामा बाढीले पूर्वाधार बगाउँदा निर्माण झनै अनिश्चित बनेको गोतामेको भनाइ छ ।
‘ठेकदारले उद्योग डुबाइदिए’
पुरानो पुल भत्काएर नयाँ निर्माण आधा मात्रै भएको सरंचनाको पारीपट्टी मनोजकुमार साहको सिमेन्टको टायल उद्योग छ । वाषिर्क ५ ला रुपैयाँ भाडा तिर्ने शर्तमा उद्योग खोलेका साहको उद्योग पुलकै कारण ६ महिनादेखि ठप्प छ । कच्चा पदार्थ ल्याउन तथा उद्योगमा तयार भएको मालवस्तु बाहिर लैजान ६ मसहिनादेखि बाटो नभएको साहले अनलाइनखबरलाई बताए ।
‘उद्योगलाई चाहिने सिमेन्ट, बालुवा र गिट्टी ल्याउने ठूलो गाडी आउने बाटो बन्द भएपछि उद्योग पनि बन्द अवस्थामा रहेको र यसले आफ्नो हातमुख जोर्ने बाटो बन्द भएको छ ‘ साहले भने ।
ठेकदारले पुल अधकल्चो बनाएर छोडेको र त्यसैमा रहेको संरचनाका कारण बाढी थुनिँदा उद्योग पनि डुबेको उनले बताए ।
समयमै पुल बनाउन स्थानीय वासीहरु पटकपटक नगरपालिकामा ध्यानाकर्षण गराउन गए पनि सुनुवाइ नभएको अर्का स्थानीय रमेश गोतामेले सुनाए ।
बदमास ठेकदार
स्थानीयको माग र आवश्यकताको आधारमा नगरले पुल बनाउन बजेट छुट्याएर काम अघि बढाए पनि बदमास ठेकदारको फेला पर्दा जनताले दुःख पाएको नार्गाजुन नगारपालिकाकी उपप्रमुख शुसिला अधिकारीले बताइन् ।
नगरले ९० लाख रकम छुट्याएर पुल बनाउन टेण्डर गरेको र प्रतिस्पर्धामा छानिएको ‘काठमाडौं कन्स्ट्रकसन’ नामक ठेकदारले इमानदार भएर काम नगरेको उनको भनाइ छ ।
‘टेण्डर परेपछि हतार-हतार पुरानो पुल भत्काएर नयाँ काम गरे जस्तो गरेको ठेकदार कम्पनी बीचमा सम्पर्क बिहिन भयो,अहिले हाम्रो सम्पर्कमा छैन,’ उपप्रमुख अधिकारीले भनिन् ।
यही असोज मसान्तमा उक्त ठेक्काको म्याद गुजि्रने र उसलाई कानुनअनुसार कारबाही गरेर पुनः नयाँ टेण्डर गरिने नगरपालिकाको भनाइ छ । दशैंअघि कामचलाउ रुपमा भए पनि बाटो सञ्चालन गर्न अस्थायी डाईर्भसनका लागिबजेट छुट्याइएको नगर उपप्रमुख अधिकारीको भनाइ छ । फोटो : आर्यन धिमाल
https://ift.tt/39SMQPJ
प्रतिक्रिया लेख्नुहोस्