जनकपुरधाम । जनकपुरधामको प्रसिद्ध शक्ति पीठ राजदेवी मन्दिरमा यस वर्ष १४ हजार २ सय ४१ बोकाको बलि दिइएको पूजा व्यवस्थापन समितिले जानकारी दिएको छ ।
बुधवार राति ८ बजेर ५ मिनेटको शुभ साइतबाट सुरु भएको बोका बलि बिहान ३ बजेर ३८ मिनेटसम्म चलेको महावीर युवा कमिटीका पूर्व अध्यक्ष सुनिल प्रसादले जानकारी दिनुभएको छ ।
बोका बली दिनका लागि राजदेवी मन्दिरको पश्चिम भागमा रहेको सेडमा ४ वटा अस्थायी ठेहा (बलि प्रदान गर्ने स्थल) को व्यवस्थापन गरिइएको थियो ।
प्रत्येक ठेहामा १० जनाको समूहमा बलि दिने (बलि कट्टा) स्वयंसेवक परिचालन गरिएको थियो ।
प्रत्येक ठेहामा प्रतिमिनेट ४० को सङ्ख्यामा बलि प्रदान गरिएको पूजा समितिले जनाएको छ ।
बलि प्रदान कार्यक्रमलाई व्यवस्थित बनाउन आयोजक महावीर युवा कमिटीका स्वयंसेवक, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरिएको थियो।
गत वर्ष कोरोना महामारीका कारणले ८ हजार ९ सय ६८ वटा बोका बलि दिइएको थियो ।
यस पटक कोरोना महामारी विरुद्धको खोप धेरैले लगाएका कारणले महामारी नियन्त्रणमा रहेको र सर्वसाधारणमा उच्च मनोबल देखिएका कारणले बलि प्रदान गर्नेको सङ्ख्यामा वृद्धि भएको छ ।
यसैगरी, प्रदेश नंं २ को अन्य शक्तिपीठहरुमा पनि बुधवार र बिहीबार बली दुवै दिन बलि दिइएको छ ।
प्रदेश नंं २ कै सप्तरी जिल्लामा रहेको छिन्नमस्ता, सखडा भगवती, रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिकाको मत्सरीमा रहेको ऐतिहासिक दुर्गा मन्दिर, बारा जिल्लाको गढीमाई तथा पर्सा जिल्लाको गहवामाई स्थानमा पनि हजारौँको सङ्ख्यामा बोका बलि दिइएको छ ।
https://ift.tt/3iW9KL5
प्रतिक्रिया लेख्नुहोस्